
पाल्पा । सरकारले त्रिभुवन विश्वविद्यालयको २० औँ उपकुलपतिमा प्राडा केशरजंग बराललाई नियुक्त गरेको छ । पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्राडा बराललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका हुन् ।
शिक्षामन्त्री अशोककुमार राईको अध्यक्षतामा रहको सिफारिस समितिले बरालसहित तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएकामध्ये दोस्रो नम्बरमा रहेका बराललाई नियुक्त गरेको हो ।
को हुन् बराल ?
२०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय रहेका छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेसा सुरु गरेका थिए । त्यसपछि उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भएर आए ।
पृथ्वीनारायण क्याम्पसमा पढाउँदै गर्दा उनी विश्वविद्यालयको वृत्ति विकास कार्यक्रम अन्तर्गत छात्रवृत्तिमा पढ्न बाहिर जाने मौका पाए । उनी २०५० सालमा विद्यावारिधि अध्ययनका लागि भारतको दिल्ली युनिभर्सिटीमा भर्ना भए । र उनले विद्यावारिधिको अध्ययन समयमै सकाए । अर्थात् २०५४ सालमा उनले पढाई सकाए । यसैगरी २०५५ सालमा दिल्ली युनिभर्सिटीले उनलाई विद्यावावारिधी (पीएचडी) को उपाधि प्रदान गर्यो ।
त्यसपछि २०६४ सालमा सरकारले उनलाई पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्यो । र उनले चार वर्षे कार्यकाल सम्पन्न गरेर २०६८ सालमा बिदा भए । पोखरा विश्वविद्यालयको भिसी भएर आफ्नो कार्यकाल पुरा गरेसँगै उनी पुनः त्रिभुवन विश्वविद्यालयमै फर्किए । त्यसपछि उनी अमेरिका गए । अमेरिकामा उनी पढाउन गएका थिए । र २०६८ सालमा नेपाल फर्किए र त्रिविमा पढाउन थाले ।
सरकारले गठन गरेका विभिन्न आयोग तथा समितिमा समेत रहेका काम गरेको अनुभव बरालसँग छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयबिच विवाद बढेको थियो । उक्त विवाद समाधान गर्न शिक्षा मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको थियो । बरालले उक्त समिति समस्या भएर समेत काम गरे ।
अहिले उनी विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्मा विशेषज्ञको रूपमा काम गर्दै आएका छन् । साढे दुई वर्षदेखि उनी विज्ञको रूपमा काम गर्दै आएका हुन् ।
उनले अहिले त्रिविको व्यवस्थापन संकायको पीएचडीका विद्यार्थीलाई पढाउँदै आएका छन् । त्यस्तै पोखरा विश्वविद्यालयका पीएचडीका विद्यार्थीलाई समेत सहजीकरण गर्दै आएका छन् । २०३९ सालदेखि नेपालको उच्च शिक्षामा निरन्तर सक्रिय रहेका उनी कुनै पनि निजी क्याम्पसमा भने छैनन् ।
यसरी सम्भव भयो उपकुलपति नियुक्तिः
त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको ४९औँ दीक्षान्त समारोहमा सम्बोधन क्रममा क्षमता र दक्षताको आधारमा मात्रै उपकुलपति नियुक्ति गर्ने घोषणा गरेका थिए । उनले सोहीअनुसार त्रिविलाई सूचना जारी गर्न निर्देशन दिए ।
खुला प्रतिस्धर्पाका आधारमा त्रिविका उपकुलपति नियुक्तिका लागि सूचना प्रकाशित गरिए पनि तीन वर्ष पदाधिकारी भएको हुनुपर्ने सर्त राखिएपछि प्रधानमन्त्री दाहालले पुनः सूचना प्रकाशित गर्न निर्देशन दिएपछि नियुक्त प्रक्रिया अगाडि बढेको थियो ।
त्रिविले कार्यविधि संशोधन गरेर जारी गरेको सूचनाको आधारमा उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको थियो । दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए । प्रधानमन्त्री दाहालले सोहीअनुसार उपकुलपति नियुक्तिको आधार तयार गर्न कस्ता प्रावधान बनाउने भन्ने विषयमा विज्ञसँग छलफल गरेका थिए ।
छलफलका आधारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको नेतृत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति बनाइएको थियो । सिफारिस समितिले त्रिविको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहाल समक्ष चित्रबहादुर बुढाथोकी, प्रा डा केशरजङ्ग बराल र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८(२) अनुसार आज प्रा डा केशरजङ्ग बराललाई उपकुलपतिमा नियुक्त गरे। प्रधानमन्त्री दाहालले तीन जनाको नाम सिफारिस गर्दा ‘मेरिटोक्रेसी’ पालना भए-नभएको बारेमा अध्ययन गरेका थिए । त्यसलगतै शिक्षामन्त्री राई एवं शिक्षा सचिव सुरेश अधिकारीसँग छलफल गरेर बराललाई उपकुलपतिमा नियुक्ति गर्नुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।