
तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा जिल्लामा प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लाभरिका दश पालिकामा रिब्दीकोट गाउँपालिका उत्कृष्ट भएको हो ।
आर्थिक वर्ष २०७९।०८० को कार्यसम्पादन मूल्यांकनमा रिब्दीकोट ३८ दशमलव ०९ अंक प्राप्त गरी उत्कृष्ट बन्न सकेको हो । त्यस्तै माथागढी गाउँपालिका ३६ दशमलव ५४ अंकसहित दोस्रो र रैनादेदी छहरा गाउँपालिका ३६ दशमलव ३८ अंकसहित तेस्रो भएका छन् ।
त्यस्तै, निस्दी गाउँपालिका ३२ दशमलव ४३ अंकसहित चौथो, रम्भा गाउँपालिका ३२ दशमलव २३ अंकसहित पाचौं, तिनाउ गाउँपालिका ३० दशमलव ५८ अंकसहित छैटौँ, तानसेन नगरपालिका ३० दशमलव १० अंक प्राप्त गरी सातौँ, बगनासकाली गाउँपालिका २९ दशमलव ४५ अंक सहित आठौँ, रामपुर नगरपालिका २६ दशमलव ६७ अंकसहित नवौँ र पूर्वखोला गाउँपालिका २१ दशमलव १६ अंक प्राप्त गरी अन्तिम भएको छ ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ ।
जसमा असार १० भित्र बजेट पेश गरे।नगरेको, असार मसान्त भित्र बजेट पारित गरे।गरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे।नगरेको, बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे।नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे।नगरेको जस्ता सूचकहरूका आधार मूल्यांकन गरिएको छ ।
त्यस्तै, आवधिक योजना तर्जुमा गरे।नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा (८ को तुलनामा कक्षा ) ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १,६ भन्दा वा सो भन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपातलगायतका सूचकहरू रहेका छन् ।