पाल्पा । योङ्ग कम्युनिस्ट लिग जिल्ला पाल्पाले जिल्लामा सञ्चालित चुनढुङ्गा खानी मापदण्ड विपरित उत्खनन भइरहेका घटनाप्रति पाल्पामा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको जनाएको छ । चुनढुङ्गा खानी मापदण्ड विपरित उत्खनन र ढुवानीले मानवीय जोखिम तथा वातावरणीय असन्तुलनका घटना तत्काल रोक्नुपर्ने योङ्ग कम्युनिस्ट लिग जिल्ला पाल्पाका संयोजक कमल श्रेष्ठले बताउनुभयो ।

हाल पाल्पा जिल्लास्थित निस्दी, माथागढी, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका क्षेत्रमा चुनढुङ्गा खानी सञ्चालनमा रहेका छन् । यस पाल्पा जिल्लाको ज्यामिरे, रहवास, हात्तीलुङ, मस्याम, मरेक, कोलडाँडा, श्रीडांडा, कंचल, सिद्धेश्वरमा रहेको सबै चुनढुङ्गा खानी मापदण्ड विपरित उत्खनन र ढुवानी भइरहेको छ । जसका कारण उत्खननले जंगल मासिंदा पानीको मुहान सुकेका कारण नागरिक तथा कृषि उत्पादनमा समस्या देखिएको छ ।

टिप्परले क्षमता भन्दा बढी चुनढुङ्गा ढुवानीका कारण सडकमा पहिरो खसेको छ । स्थानीयको भान्सादेखि ओछ्यानसम्म धुलो पुगेर बस्नै सकस छ । जसका कारण स्वास्थ्यमा समस्या आइरहेको छ । र, सो क्षेत्रमा मानवीय जोखिम रहेको सरकारी मापदण्ड अनुसार खानी सञ्चालन र ढुवानी गर्न माग गरेको हो ।

खानी दोहन र टिप्परको अनियंत्रित गतिका कारण दुर्घटना र क्षमता भन्दा बढी ढुवानीका कारणले सिद्धार्थ राजमार्ग क्षतविक्षेत भएको छ । हरेक वर्ष पहिरो खसेर अवरुद्ध हुने साथै ठूलो धनजनको क्षति हुँदा समेत सरोकारवाला निकाय मौन रहेका छन् ।

खानी सञ्चालन र ढुवानीको कारण वायु, जमिन, ध्वनि र जलप्रदूषण भैरहेको छ । खानीको उपल्लो तटीय र तल्लो तटीय क्षेत्रमा प्रतिकूल प्रभाव परिरहेको छ । यसको समयमा व्यवस्थापन गर्न नसकेको अवस्थामा वातावरणीय जोखिम झनै बढ्ने र व्यवस्थापनमा चुनौती हुने देखिएको हो ।

योङ्ग कम्युनिस्ट लिगले नेपाल सरकार मापदण्ड अनुसार सञ्चालन हुनुपर्ने मागसहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको हो । चुनढुङ्गा खानी सञ्चालन क्ष्भ्ब् र माइनिङङ्ग स्किम अनुसार उत्खनन गर्ने, स्वास्थ्य र कृषि क्षेत्रमा भएका हानीनोक्सानी न्यूनीकरण गर्ने, खानी प्रभावित क्षेत्रका स्थानीयबासिन्दासँग गरिएको सम्झौता कार्यान्वयन गर्ने, प्राकृतिक स्रोतमाथिको दोहन र चुरेमा पर्न गएको असरमा यसको दिगो रुपमा समधान गर्ने, विभिन्न सामाजिक साँस्कृतिक विकृति तथा विसंतिलाई रोक्ने, चुनढुङ्गा ढुवानी क्षमता भन्दा बढी नगर्ने लगायतका माग प्रजिअ आनन्द प्रसाद काफ्लेलाई बुझाएका थिए ।

नेकपमा माओवादी पाल्पाका अध्यक्ष राजेन्द्र विश्वकर्माले चुनढुङ्गा खानी मापदण्ड अनुसार सञ्चालन हुन नसकेको कारण मानवीय तथा प्राकृतिक सौन्दर्यता गूमेको बताउनुभयो । उहाँले भन्नुभयो, खानीहरु नेपाल सरकारको मापदण्ड अनुसार नै सञ्चालन हुनुपर्छ ।

पाल्पाका प्रजिअ आनन्द प्रसाद काफ्लेले योङ्ग कम्युनिस्ट लिगले चुनढुङ्गा सञ्चालन र ढुवानी सम्वन्धी अध्ययन गरी अगाडि बढ्ने बताउनुभयो । मानवीय तथा वातावरणीय जोखिम भइरहेकोले यसको अध्ययन गर्न खाँचो रहेको प्रजिअ काफले बताउनुभयो ।

पाल्पा जिल्लाका चुनढुङ्गा खानी क्षेत्रबाट दैनिक २ हजारभन्दा बढी टिपर चुनढुङ्गा र डोलोमाइट निकासी हुँदै आएको छ । चुनढुङ्गा खानी उद्योगले तौलका लागि धर्मकांटा प्रयोग नगर्ने र राजस्व छली भइरहेको छ । चुनढुङ्गा खानी सञ्चालन मापदण्ड विपरित जथाभावी उत्खनन गर्ने र ढुवानीका कारण आमनागरिक प्रतिकूल असर परेकोप्रति जिल्लामा छलफल हुनै सकेको छैन ।

तपाईको प्रतिक्रिया