तानसेन।  पाल्पाको रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउवितरण गरेको हो ।

सो क्षेत्रको हावापानीमा उत्पादन हुने र कृषकको माग अनुसारका विभिन्न तीन जातका मकैको बीउ वितरण गरेको नगरपालिकाले जनाएको छ । लामो खडेरीका कारण मकै उत्पादनमा ह्रास आएको हुँदा बीउको अभाव हुन नदिन नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए।

कृषि क्षेत्रको विकास र कृषि उत्पादनलाई वृद्धि गर्नका लागि नगरपालिका भित्रका कृषक र कृषि सहकारी गरी सात सय १२ जना कृषकलाइए आठ हजार ८ सय २९ किलो मकैको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले जानकारी दिए।

कृषकहरुलाई मनकामना ३, अरुण २ र रामपुर कम्पोजिटगरी तीन जातका मकैको बीउ वितरण गरिएको छ। रामपुर नगरपालिकाले खाद्यान्न बीउ ५० प्रतिशत अनुदानमा वितरण कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ बराबरको बीउ वितरण गरेको छ ।

यस भन्दा अगाडी नगरपालिकाले काउली ,बन्दा  र प्याजका बेर्ना, विभिन्न तरकारीको बीउ पनि ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया