निस्दीमा आठ दिने महोत्सव हुदैँ

तानसेन। पाल्पाको निस्दी गाउँपालिकामा चैतको अन्तिम सातादेखि दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव हुने भएको छ । स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्धन तथा गाउँपालिकाको पहिचानका लागि चैत २६ देखि २०८१ वैशाख ३ गतेसम्म दोस्रो महोत्सव हुने भएको हो।

‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ नारासाथ निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा पालिकाको केन्द्र रहेको मित्यालमा महोत्सव सञ्चालन गर्न लागिएको हो ।

स्थानीय उत्पादनको बजारीकरण, पर्यटन तथा संस्कृतिको प्रवर्धनका लागि दोस्रो महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक उमेशकुमार गाहाले बताए ।

महोत्सवमा पालिका भित्र रहेका मगरी संस्कृति, स्थानीय उत्पादन तथा पर्यटकीयस्थलको प्रवर्धन र खेलकुदमार्फत निस्दीको पहिचान दिलाउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवको आकर्षण रूपमा स्थानीय कृषिउपज तथा हस्तकलाका सामग्रीको बिक्री वितरण, मौलिक खानाका परिकार, सांस्कृतिक झाँकी प्रदर्शनी, अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल, दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति, निस्दी डान्स आइडल, बालउद्यान र फोटो प्रदर्शनी रहने बताइएको छ ।

निस्दी खेल मैदान झ्याल्टुङ्गमा हुने महोत्सवमा ५० भन्दा बढी व्यापारिक स्टल रहनेछ । मेला सञ्चालनका लागि ४० लाख बढी खर्च लाग्ने आयोजकले आङ्कलन गरेको छ ।

तपाईको प्रतिक्रिया