
तानसेन। पाल्पा जिल्लाका १० स्थानीय तहका उपप्रमुख-उपाध्यक्षहरुको सम्मिलित उपमेयर्स फोरम पाल्पा गठन भएको छ । शुक्रबार तानसेन नगरपालिकामा भएको न्यायिक समितिको प्रथम जिल्ला सम्मेलनले तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजाली गाहा मगरको संयोजकत्वमा १० सदस्यीय फोरम गठन गरेको हो ।
फोरमको उपाध्यक्षमा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकलाई तोकिएको छ । सदस्यहरुमा बालकुमारी थापा रामपुर नगरपालिका, लाल बहादुर थापा तिनाउ गाउँपालिका, तिरण कुमारी श्रेष्ठ निस्दी गाउँपालिका, राधा कुमारी श्रेष्ठ रम्भा गाउँपालिका, विष्णुमाया लुङ्चे माथागढी गाउँपालिका, कान्ता अधिकारी रिब्दीकोट गाउँपालिका, भागिरथी शर्मा भट्टराई पूर्वखोला गाउँपालिका र युवराज थापा रैनादेवी छहरा गाउँपालिका रहेका छन् ।
‘कानुनतः निर्वाह गर्नुपर्ने भुमिकाहरूमा पाल्पा जिल्लाका स्थानीय तहहरूमा एकरूपता, आपसी समन्वय र सिकाइ आदानप्रदानको संयन्त्र निर्माण गरि एकआपसमा उपप्रमुखरउपाध्यक्षलाइ परेका समस्या तथा अप्ठ्याराहरूलाइ कम गर्नका लागि खुल्ला प्रकृतिको साझा फोरम निर्माण गरिएको’ नवगठित फोरमकी संयोजक प्रतिक्षा सिंजाली गाहा मगरले बताइन् ।
‘उपप्रमुख तथा उपाध्यक्षहरूले नेतृत्व गरेका बिषयगत समितीका भूमिकाहरूमा जिल्ला भरीका स्थानीय तहहरूमा एकरूपता ल्याउनका लागि यो फोरम प्रभावकारी हुने’ सिंजालीको तर्क छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका प्रमुख सन्तोसलाल श्रेष्ठले यस्ता खालका फोरमले आपसी सिकाइ आदानप्रदान र रचनात्मक कार्यमा फलदायी हुने बताए। उनले उपमेयर्स फोरमले कार्यविधि नै बनाएर आफ्ना गतिविधि अगाडी बढाउन समेत सुझाव दिए।
जिल्ला भरीका न्यायिक समितिका संयोजक तथा सदस्यहरु समेत सहभागी सम्मेलनमा ३ छुट्टा छुट्टै कार्यपत्र प्रश्तुत गरी त्यसमा छलफल गरिएको थियो । पाल्पा जिल्ला अदालतका अधिकृत राम प्रसाद पोखरेलले न्यायिक समितिका क्षेत्राधिकारका विषयमा कार्यपत्र प्रश्तुत गर्दै न्यायिक समितिका कार्यविधिमा एकरुपता ल्याउन जोड दिए।
न्यायियक समिति सूचना व्यवस्थापन प्रणाली विकास लगाएतका क्षेत्रमा कार्य गरिरहेको रिनोवेसन नेपालका कार्यकारी निर्देशक राम बाबु नेपालले न्यायिक समितिको कार्यप्रक्रिया, अभिलेखिकण र कार्यन्वन सम्वन्धी कार्यपत्र प्रश्तुत गरेका थिए ।