मुख्यमन्त्री चौधरीले दिए राजीनामा

पाल्पा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजानीमा दिएका छन् । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा पर्ने देखिएपछि विश्वासको मत लिन तयार भएका उनले बिहीबार पदबाट राजीनामा दिएका हुन् ।

उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्रीले लुम्बिनी प्रदेशमा राप्रपा र नागरिक उन्मुक्ति पार्टीसहित साना दलको साथ लिएर सरकार जोगाउने प्रयास गरेपनि असफल भएपछि राजीनामाको दिए।

मुख्यमन्त्री चौधरी गत वैशाख १४ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई वैशाख १९ मा विश्वासको मत प्राप्त गरेका थिए । माओवादी केन्द्रसहितका दलहरुले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका मुख्यमन्त्री चौधरीले प्रदेशसभालाई सम्बोधनमा राजनीतिक उथलपुथलले सङ्घीयता खतरामा रहेको समेत बताए।

पटक–पटक सरकार बन्ने र भत्कने खेलले प्रदेशको औचित्य साबित गर्न नसकिने भन्दै अब दलहरू प्रदेश, सङ्घीयताको औचित्य पुष्टि गर्नेगरी छलफल गर्न आवश्यक रहेको उनले दावी गरे ।

मुख्यमन्त्री चौधरीले राजीनामा गरेपछि लुम्बिनीमा नयाँ सरकारको गठनको बाटो खुलेको छ । नयाँ गठबन्धनमा लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) लाई मुख्यमन्त्री दिने सहमति भएको छ ।

नयाँ गठबन्धनको नेतृत्व गर्दै माओवादीका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया