
काठमाडाैं। शुक्रबारबाट सुरु हुने कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएका छन्।
यसवर्ष चार लाख ९१ हजार ४९७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी रहेको बोर्डले जनाएकाे छ। गत वर्षको तुलनामा यस वर्ष १८ हजार विद्यार्थी बढेकाले परीक्षा केन्द्र पनि थप भएकाे छ ।
सबैभन्दा बढी काठमाडौंमा १४४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ्/मुस्ताङ्मा एक–एक परीक्षा केन्द्र रहेको बोर्डले जनाएकाे छ।
यसपटक काठमाडौँमा स्वचालित प्रणालीमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने परीक्षा समन्वय समितिको सिफारिसमा परीक्षा केन्द्र निर्धारण हुँदै आएको थियो । यसो हुँदा मिलेमतो हुने सम्भावना भएको गुनासो बढेपछि स्वचालित प्रणालीमा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
देशभरबाट पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछन् ।
हरेक विद्यालयका विद्यार्थी संख्या र परीक्षा केन्द्रको सिट संख्याका आधारमा तथा विद्यालय र केन्द्रको अक्षांश र देशान्तरको आधारमा दुरी निकालिएको थियो ।
एकै विद्यालयको परीक्षार्थी संख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँडिएको छ । हिमाली क्षेत्रमा प्रति केन्द्रमा १५०, पहाडी जिल्लामा औषतमा दुई सय र काठमाडौं तथा तराईमा प्रति केन्द्रमा तीन जना विद्यार्थी रहने गरी केन्द्र निर्धारण गरिएको छ ।
परीक्षामा देशभर एक हजार ५२५ केन्द्राध्यक्ष, एक हजार ९०७ सहायक केन्द्राध्यक्ष, २७ हजार ३०५ निरीक्षक कर्मचारी एक हजार ९०७ गरी कुल ३४ हजार १७१ जना रहनेछन् । १८ हजार ३०० सुरक्षाकर्मी परीक्षाको लागि खटिनेछन् ।