तानसेन। पाल्पामा नौं हजार ४६७ जना बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइने भएको छ । वि.स. २०७३ बैशाख महिनादेखि २०७५ असोजसम्म खोप अभावका कारण लगाउन छुटेका बालबालिकालाई खोप लगाइने भएको हो।
छुटेका बालबालिकालाई विद्यालयमार्फत खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताए । पाल्पाका दश स्थानीय तहमा दुई चरणमा गरी खोप लगाइने भएको छ ।
पहिलो चरणमा जेठ १३ गतेदेखि २० गतेसम्म तानसेन, रिब्दीकोट, बगनासकाली, रैनादेवी छहरा, तिनाउ र माथागढी गाउँपालिकामा खोप लगाइने तयारी भएको छ। यस्तै दोस्रो चरणमा जेठ २१ गतेदेखि २६ गतेसम्म रामपुर, रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने प्रमखु डा. गिरीले बताए ।
खोप लगाउनका लागि चार सय ४८ विद्यालयमा पाँच सय २९ खोप केन्द्र बनाइएको छ । यस्तै विद्यालयमा छुटेका बालबालिकालाई सबै वडाका स्वास्थ्य संस्थामा केन्द्र बनाएर खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले बताए ।
खोप अभियान प्रभावकारी बनाउन ५२७ जना स्वास्थ्यकर्मी र ५२९ जना विद्यालयका शिक्षक शिक्षिकाबाट स्वयम्सेवक परिचालन गरिने तयारी भएको छ ।





















