
तानसेन। पाल्पाको निस्दी गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाईमा गाउँपालिकाका विभिन्न वडाबाट नागरिक प्रतिवेदन, बर्हिगमन अभिमतलगायतका साथै अडियोसमेत लिइएको थियो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले अर्धवार्षिक खर्च, कार्यक्रम, बजेट तथा चालु आर्थिक वर्षमा सम्पादन भएका योजना तथा कार्यक्रमका साथै सेवाको प्रगति प्रतिवेदन जानकारी गराए । उनले चालु आर्थिक वर्षमा ६९ करोड बजेटमा ३४ करोड खर्च भएको जानकारी गराउँदै आर्थिक वर्षमा वित्तीय प्रगति विवरण अन्तर्गत चालू तर्फ ६२ प्रतिशत र पूँजीगत तर्फ ४१ दशमलव २५ प्रतिशत खर्च भएको जानकारी गराए । कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, बालमैत्री लगायत विविध विषयमा भएको प्रगति विस्तृतमा प्रमुख प्रशासकीय अधिकृतले जानकारी गराएका हुन् ।
चालु आर्थिक वर्षमा निस्दी गाउँपालिकाले २८ लाख ३१ हजार राजश्व संकलन गरेको छ भने वडा नम्बर ४ मित्यालले सबैभन्दा धेरै ७ लाख ५४ हजार र सबै भन्दा थोरै २ नम्बर वडा सहलकोटले ६३ हजार राजश्व संकलन गरेको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले निस्दीको विकासमा चासो दिएर विभिन्न ढंगले सुझाव दिँदा साथै जिज्ञासा तथा सुझाव व्यक्त गर्दा भोलिका दिनमा काम गर्नमा थप मार्गनिर्देशन मिल्ने बताए । गाउँपालिकाले जनताले प्रत्यक्ष महशुस गर्नेगरी विकासका काम गरेको बताउँदै गाउँपालिका अध्यक्ष सारुले आगामी दिनमा निस्दीले रोजगार तथा व्यवसायमूलक र उत्पादनमूखी काम गर्ने योजना रहेकोले सरोकारवाला सबैलाई सुझावका लागि अनुरोध समेत गरे । उनले सहभागीले उठाएको जिज्ञासा र विभिन्न कोणबाट आएका सुझावलाई मनन गरेर अघि बढ्ने बताए ।
गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले सार्वजनिक सुनुलाईले नै काम गर्नका लागि सहयोग पुग्ने बताइन् । उनले जनतालाई खबरदारी गर्ने साथै सुशासन ऐनको कार्यान्वयन गर्न यो कार्यक्रम प्रभावकारी हुने बताइन् । योजना तथा अनुगमन तथा प्रशासन प्रमुख तथा सूचना अधिकारी अर्जुन खनालले सुशासन, पारदर्शीता र जवाफदेहिताका लागि गरिएको सार्वजनिक सुनुवाइले आगामी दिनमा काम गर्न थप उत्साह थप्ने बताए ।
कार्यक्रममा सहभागीहरु दमन बहादुर सिंजालीले विद्युत्ीकरण भए पनि काम गर्ने कर्मचारीका कारण बिग्रेको विद्युत् समयमा नबन्ने समस्या रहेको गुनासो गर्नुभयो । सहभागी तिलबहादुर आलेले सम्झौता गरेर काम गरे पनि भुक्तानी नपाएको गुनासो राखेका थिए । नागरिक प्रतिवेदन, बर्हिगमन अभिमत लगायत अडियो विधिबाट लिइएको प्रतिक्रियामा भने गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, भौतिक पूर्वाधार, बिजुली, पर्यटन, कृषि, विपत् व्यवस्थापनलगायतका विषयमा गम्भीर भएर ठोस योजना ल्याउन पर्ने साथै यस क्षेत्रमा सञ्चालन भएका योजना तथा कार्यक्रमका विषयमा जिज्ञासा तथा सुझाव राखेका छन् ।
कार्यक्रममा नेकपा एमाले निस्दी गाउँपालिका अध्यक्ष रामबहादुर पाटा मगरले पछिल्लो समयमा विजुली, सडक, खानेपानीका क्षेत्रमा निस्दीले विकास गरेको बताउँदै निस्दीको विकासमा राजनीतिक दल बाधक नबन्ने र सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सहभागीहरुले उठाएका जिज्ञासाको जवाफ वडाध्यक्ष दुर्गा सोमै, विषयगत शाखाका संयोजकहरु संजय खनालले काम गर्दा हुनसक्ने कमजोरीका विषयमा तत्काल प्रश्न गर्न सुझाव दिए ।
कार्यक्रममा आर्थिक प्रशासन शाखा प्रमुख सरोज काफ्ले, स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगर, शिक्षा शाखा प्रमुख नरबहादुर थापा, कृषि शाखा प्रमुख सागर न्यौपाने, पशु विकास शाखा प्रमुख ओम मश्राङ्गीमगर, सहकारी तथा राजश्व शाखा प्रमुख विमला आचार्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बन्दना गुप्ता, बालकल्याण अधिकारी कुस्माखर पाण्डेय लगायतले नागरिक प्रतिवेदनका साथै बर्हिगमन अभिमतबाट आएका तथा अडियोबाट लिइएका सुझावलाई कार्यान्वयन गर्न सधै तयार रहेको बताएका छन् । को सहजिकरण पत्रकार माधव प्रसाद अर्याल र पुनाराम सुनारीले गरेका थिए ।