रामपुरका महिलालाई हस्तकलाका सामग्री बनाउने तालिम

तानसेन। पाल्पाको रामपुर नगरपालिकाले महिलालाई मकैको खोस्टा (पोस्कर) बाट हस्तकलाका सामग्री उत्पादन गर्ने सिप प्रदान गरेको छ । नगरपालिकाले गाईभैंसीलाई खुवाउन प्रयोग हुँदै आएको मकैको खोस्टा र वनमा पाइने थाकलको पातबाट हस्तकलाका सामग्री बनाउन सिकाइएको हो ।

नगरपालिकाले ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाडौंको प्राविधिक सहयोगमा वडा नं.५ र ६ मा एक महिने तालिम सञ्चालन गरेको थियो । नगर भित्रका ४० जना महिलालाई स्थानीय स्तरमा पाइने प्राकृतिक रेशाजन्य वनस्पतीमार्फत हाते झोला, टोपी, फूलदानी, टोकरीलगायतका विभिन्न सामग्री बनाउने सिप सिकाएको हो ।

तालिममा सहभागी महिलालाई प्रमाणपत्र प्रदान गर्दै रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले स्थानीय स्रोत र साधनको सदुपयोग गरी महिला दिदीबहिनीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको बताए । सिपको माध्यमबाट हस्तकलाका सामग्री उत्पादन गर्न आग्रह गर्दै नगर प्रमुख थापाले उत्पादित सामग्री नगरपालिकाले खरिद गरिदिने तथा उत्पादनको आधारमा अनुदानसमेत दिने प्रतिबद्धता जनाए।

उपप्रमुख बालकुमारी थापाले महिलालाई स्वाबलम्बी र उद्यमी बनाउन नगरपालिकाले तालिम सञ्चालन गर्दै आइरहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले हस्तकलाका सामग्री सजावटका लागि प्रयोग हुने भन्दै खाली समयको सदुपयोग गरेर भए पनि उत्पादनमा जोड दिन आग्रह गरे।

महिलालाई आत्मनिर्भर बनाउन रामपुर नगरपालिकाले व्यावसायिक योजना निर्माण, सिलाइ कटाइ, साबुन, सर्फ निर्माण, आलुको चिप्स निर्माणलगायतका तालिम सञ्चालन गर्दैआएको छ ।

नगरपालिकाले प्रदान गरेको सिपको माध्यमबाट उत्पादित वस्तु विक्रीका लागि कोसेली घरमार्फत बिक्रीको व्यवस्था मिलाउने पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया