पाल्पाका सबै स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा

तानसेन। पाल्पाका सबै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । चालु आर्थिक वर्षमा खोपका सबै कार्यक्रम पूगा गरेपछि जिल्लाका दशै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

बुधबार रामपुरमा आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, समितिका सदस्य सचिव एवं स्वास्थय कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापालाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गरी रामपुरलाई पूर्णखोप सुनिश्चितता घोषणा गरे ।

नगर भित्रका १० वटै वडालाई पूर्णखोप सुनिश्चिता घोषणा गरेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिना सम्मका ६ सय ८ र १६ महिना देखि ५९ महिना सम्ममा २ हजार १४० जनाले पूर्णखोप प्राप्त गरेको तथ्याङ्क रहेको स्वास्थ्य शाखाका प्रमुख गिरिराज घिमिरेले बताए।

वैशाख महिनामा महिला स्वास्थ्य स्वंसेविका, स्वास्थ्यकर्मी परिचालन गरी सबै वडामा खोज र खोप अभियान सञ्चालन गरिएकोमा एकजना बालिका नियमित खोप लगाउन छुटेको पाइएको र अहिले नियमित खोपको मात्रा पुरा गर्ने क्रममा रहेको घिमिरेले बताए।

जन्मेदेखि १५ महिनासम्म र १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई दुई समूहमा वर्गीकरण गरेर खोप अभियान संचालन गरिएको थियो ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र कुमार गिरीले पाल्पालाई २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको र संघीयता पश्चात २०७९ देखि पाल्पालाई निरन्तर पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्न सफल भएको बताए। यस वर्ष पनि रामपुरसँगै १० वटै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको र जिल्लालाई औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको उनले बताए ।

पूर्णखोप सुनिश्चिता कार्यक्रमले ५ वर्षमुनिका बालबालिकाले पाउने १३ प्रकारका खोप मध्ये कुनै तरिकाबाट छुटेका भएपनि पुन समेटिने भएकाले निकै प्रभावकारी भएको बताइएको छ ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले नागरिकको स्वास्थ्यका लागि राज्यले खोपमा ठूलो धनराशी खर्च गर्दै आएको बताउँदै खोपलाई सामान्य रुपमा नलिग आग्रह गरे। राज्यबाट स्वास्थ्य र शिक्षामा गरिएको लगानी तत्काल नदेखिने भए पनि बालबालिकाको भविष्यमा यसको महत्वपूर्ण प्रभाव रहने उनले बताए ।

पूर्णखोप कार्यक्रमले विभिन्न रोगबाट बचाउन, बाल मृत्युदर तथा मातृ मृत्युदर घटाउन, औसत आयुमा वृद्धि गर्न सहयोग गरेको उनले बताए ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले दिर्घकालीन विकास भनेको स्वास्थ्य र शिक्षामा लगानी भएको भन्दै नगरले विगतको वर्षको तुलनामा थप कार्यक्रम सञ्चालन गर्ने बताए।

उनले पूर्ण खोप सुनिश्चिचताको लागि जिम्मेवार भएर निरन्तर रुपमा लाग्न स्वास्थ्यकर्मीलाई अनुरोध गरे ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer