ढाक्रेबासमा ढुङ्गेधारा उद्घाटन

तानसेन । तानसेन नगरपालिकाले ढुङ्गेधाराहरूको संरक्षणमा जुटेको छ । तानसेन नगरपालिका १, ढाक्रेबासमा निर्मित ऐतिहासिक धाराको संरक्षणमा जेटेको हो।

ऐतिहासिक महोत्व बोकेको उक्त ढुङ्गेधाराको संरक्षण नहुदा लोप हुने अवस्थामा पुगेको भन्दै पौराणिक महत्व बोकेको धाराहरूको संरक्षणमा नगर लागि परेको तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । अहिले उक्त ढुङ्गेधारालाई व्यवस्थित गरिएको छ । धाराको समुद्घाटन गर्दै तानसेन नगर सरकारका प्रमुख श्रेष्ठले ताढुङ्गेधारा तथा पधेराहरूको छुट्टै महत्व रहेको भन्दै यसको संरक्षण गर्नु नगरको दायित्व भएको बताए ।

नगर सरकारले नगरभित्रका ऐतिहासिक महत्व बोकेका ढुङ्गेधारा, कुवा, पधेराहरूको संरक्षण र सम्वर्द्दनमा जोड दिएको उनले बताए । तानसेन नगरपालिका भित्रका ढुङ्गेधारा, कुवा, पधेराहरूलाई संरक्षण गर्न सके खानेपानीको आपूर्तीमा थप सहयोग पुग्ने बताउँदै तानसेनमा धेरै ऐतिहासिक, पुरातात्त्विक, मठमन्दिर, ढुङ्गेधारा, कुवा तथा संस्कृतिहरू हेर्नका लागि आउने पर्यटकले पनि नगरको विकासमा टेवा पुग्ने उनले बताए ।

तानसेन नगरपालिका उप प्रमुख प्रतिक्षा सिङ्जालीले धारा निर्माणले नागरिकहरूलाई सहज खानेपानी उपलब्धमात्र नभइ उक्त ढुङ्गेधाराको इतिहासलाई जोगाउन सहयोग गरेको बताइन । नगरपालिकाले नगर भित्रका यस्ता सम्पदाहरूलाई संरक्षण र सम्वर्द्वन गर्नका लागि प्रयास गरिरहेको बताइन । नगर सरकारसँग समिति स्त्रोत तथा साधनका कारण प्रयाप्त बजेटको अभाव भएपनि नगर सरकारले प्रयाप्त बजेटको अभावका बाबजुद पनि सम्पदाको संरक्षणमा बिशेष जोड दिदै आएको उनले बताइन ।

तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्यालले तानसेन वडा न १ मा स्थानीयलाई सहज रूपमा खानेपानी उपलब्ध गराउन र ढुंगेधाराको संरक्षण गरिएको बताए । ढाक्रेबासको ढुङ्गेधाराको संरक्षण गर्न २ लाख रूपैयाँ रकम खर्च गरिएको उनले बताए ।

स्थानीय हरि कृष्ण कार्कीले परापूर्व कालमा ठूलो बस्ती रहेको र सोही स्थानको बाटो भएर पर्वतका ढाक्रेहरू नुन लिन बटौलीसम्म पुग्ने इतिहास रहेको बताए । उक्त ढुङ्गेधारा भएका ठाउँमा ढाक्रेहरूले ढाकर बिसाएर पानी खाने गरेका कारण उक्त स्थानको नाम ढाक्रेबास रहेको बताए । धारामा गर्मी मौसममा चिसो पानी आउने र जाडो समयमा तातो पानी आउने गरेको बताए ।

 

तपाईको प्रतिक्रिया