रामपुरमा संचालित निःशुल्क लोक सेवा तयारी कक्षा सम्पन्न

तानसेन।  रामपुर नगरपालिकाले सञ्चालन गरेको निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सकिएको छ । ४५ दिनसम्म चलेको लोक सेवा आयोग तयारी कक्षाको मंगलबार समापन गरिएको हो ।समापन कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले लोक सेवा आयोग पढ्न रुचि भएका विद्यार्थीहरुको सहजताका लागि कक्षा सञ्चालन गरिएको बताए ।

उनले लोक सेवा आयोग तयारीका लागि मार्ग दर्शनको रुपमा कक्षा सञ्चालन गरिएको भन्दै सफलताका लागि लगनशील भएर अध्ययन गर्न आवश्यक रहेको बताए ।स्वदेशमै बसेर देश र जनताको सेवा गर्नका लागि मेहनतका साथ लगनशीलता र निरन्तरताको खाँचो रहेको नगर प्रमुख थापाले बताए ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नगरपालिकाले लोक सेवा आयोग बारे आधारस्तम्भ तयार गर्नका लागि कक्षा सञ्चालन गरेको भन्दै सफलताका लागि मेहनतका साथ अध्ययन गर्न आग्रह गरिन् । तालिममा सहभागीले सिकाई अनुसारको उपलब्धि हासिल गर्न सफल हुनुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले नगरपालिकाले लोक सेवा आयोगको बाटो मात्रै देखाएको भन्दै सफलताका लागि आफै मेहनतका साथ अगाडी बढ्नु पर्नेमा जोड दिए।

रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पाका स्ववीयु सभापति ल्याकत अली, सहभागी विद्यार्थी सुरक्षा घिमिरे, पुजा पगेनी र संगिता बस्यालले बोल्दै लोक सेवा आयोग बारे जान्न र ज्ञानको अभिवृद्धिका लागि कक्षा सञ्चालन गरेकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गरे।

लोक सेवा आयोग तयारी कक्षा अवधिभरमा उत्कृष्ट हुने ३ जना सहभागिलाई पुरस्कृतसमेत गरिएको थियो । सहभागी मध्ये पुजा पंगेनी, सरिता लम्साल र आकृति भट्टराई उत्कृष्ट सहभागीको रुपमा पुरस्कृत भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया