एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईको नतिजामा अस्वीकृत (ननग्रेडिङ) (एनजी) ल्याएका सबै विद्यार्थीले ग्रेडवृद्धि गर्न (मौका) परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको छ । बिहीबार सार्वजनिक नतिजामा ४ लाख ६४ हजार ७ सय ८५ मध्ये ५२ प्रतिशत विद्यार्थी एनजीमा परेका थिए । तीमध्ये दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका २०७८ मा उल्लेख छ ।

यो व्यवस्थाअनुसार १ लाख १५ हजार ८ सय ३४ जना मात्रै ग्रेडवृद्धि परीक्षाका लागि योग्य थिए । शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सबै ननग्रेडिङ विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले बताए । जसअनुसार सबै एनजी ल्याउने छात्रछात्रा अर्थात दुई लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीलाई नै ग्रेडवृद्धि गर्न मौका परीक्षामा सहभागी हुन दिने मन्त्रीस्तरीय निर्णय भएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रलाई पनि उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ। केन्द्रले लागू गरेको निर्देशिकामा दुई विषयसम्म ननग्रेडिङ ल्याएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने उल्लेख छ । दुई विषयभन्दा बढीमा ननग्रेडिङमा परे चैतमा सञ्चालन हुने वार्षिक परीक्षामा मात्र सहभागी हुन पाउने व्यवस्था छ ।

निर्देशिकाको उक्त व्यवस्थासमेत संशोधन हुने मन्त्रालयले जनाएको छ । उक्त व्यवस्था संशोधन भए कक्षा १२ को नतिजामा त्यही पद्धति कार्यान्वयन हुनेछ । परीक्षा बोर्ड र केन्द्रले थप निर्णय गरेपछि मन्त्रीस्तरीय निर्णय कार्यान्वयनमा जाने बताइएको छ । बोर्डले साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने समयतालिका प्रकाशित गरेको थियो । उक्त निर्णयपछि परीक्षाको समयतालिकामा समेत संशोधन हुने बोर्डले जनाएको छ ।

ग्रेडवृद्धिमा सहभागी हुने विद्यार्थीलाई परीक्षाको तयारी सञ्चालन केन्द्र शिक्षा तथा मानवस्रोत विकास केन्द्रमार्फत देशभरका विद्यालयलाई समेत निर्देशन दिने निर्णय भएको भएको छ । परीक्षा तयारीका लागि कक्षा सञ्चालनमा विश्वविद्यालयलाई समेत आग्रह गर्ने निर्णय भएको हो ।

शिक्षा मन्त्रालयको निर्णयअनुसार ७ वटै विषयमा ननग्रेडिङ हुने विद्यार्थीले पनि साउनमा सञ्चालन हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । नतिजामा कतिपय विद्यालयका शतप्रतिशत विद्यार्थीसमेत असफल भएको पाइएको छ ।

२०७२ देखि लागू लेटर ग्रेडिङ पद्धतिमा सबै विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था थियो । तर, यसले गर्दा विद्यार्थीमा पठन संस्कृति हराउँदै गएको भन्दै २०७८ मा निर्देशिका संशोधन गरेर सैद्धान्तिक (लिखित) तर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडेड हुने व्यवस्था गरिएको थियो । जसका कारण कक्षा ११ मा भर्ना हुन पाउनेभन्दा नपाउने विद्यार्थीको संख्या बढी छ । कक्षा १० मा उक्त व्यवस्था यसपालिदेखि मात्रै लागू भएको हो ।

तपाईको प्रतिक्रिया