बादँरले हैरानी गरेपछि नियन्त्रण गर्न गुलेली र मटेंग्रा

तानसेन। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले कृषकहरूलाई गुलेली र मटेंग्रा वितरण गरेको छ । पछिल्लो समय बादँर, सुंगासहितका जंगली जनावरले मकैलगायतका बालीमा हानी पुर्याएपछि नियन्त्रणका लागि मटेंग्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

अहिले स्यार गर्ने बेलाको मकैबारीमा सबैभन्दा धेरै बादँर र सुगाले हैरानी पुर्याएपछि किसानले पालिकामा नियन्त्रणका लागि गुनासो गरेपछि वडा नं. २ र ३ का किसानलाई गुलेली र मटेंग्रा वितरण गरिएको हो।

बादँर र सुगाँसहित चरा र अन्य जंगली जनाबरलाई नियन्त्रणमा सहयोग स्वरुप दुई वटा वडाका किसानलाई गुलेली र मटेंग्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले बताए। ग्रामीण क्षेत्रमा मानिसको जनसंख्या घट्दै जाँदा जंगलको क्षेत्र विस्तार हुँदा बाँदर र अन्य जंगली जनावरले किसानलाई सास्ती दिदै आएका छन् ।

स्याहार गर्ने बेलाको मकैको रक्षामा चुनौतीको रुपमा रहेको बाँदर नियन्त्रणका लागि केही हदसम्म भएपनि सहज बनाउन गुलेली र मटेंग्राले टेवा पुग्ने विश्वास किसानले गरेका छन् । गाउँपालिकाले पहिलो चरणमा ३ नं वडामा ३० वटा २ नं वडामा २५ वटा गरी जम्मा ५५ परिवारलाई गुलेली वितरण गरेको जनाएको छ ।

वितरित गुलेलीबाट बादर नियन्त्रणमा सहयोग पुग्ने देखिएमा अन्य वडामा पनि विस्तार गर्ने योजना रहेको रहेको पालिकाले जनाएको छ । सरकारले बाँदर नियन्त्रण गर्ने प्रभावकारी नीति ल्याउन नसकेको अवस्थामा गुलेलीमार्फत बाँदरको समस्या न्यूनीकरणमा टेवा पुग्ने विश्वास किसानले लिएका छन् ।

गुलेली र मटेंग्राको प्रयोगबाट बादँर र अन्य जनावर भगाउने कार्यलाई मानव सभ्यताको विकाससंगै घरेलु हतियारका रुपमा प्रयोग गर्दै आएको पाइन्छ ।

तपाईको प्रतिक्रिया