
तानसेन। बजेट अभावले गर्दा तानसेनमा संचालित आमा सुरक्षा कार्यक्रम बन्द भएको छ । सरकारको मापदण्ड अनुसार तोकिएको रकम नदिएपछि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा संचालित कार्यक्रम बन्द भएको हो।
चालु आर्थिक वर्ष अर्थात साउन १ गतेदेखि कार्यक्रम पूर्ण रुपमा बन्द भएको छ । नगरपालिकाले लुम्बिनी मेडिकल कलेजलाई पत्र पठाएर विगतदेखि आमा सुरक्षा कार्यक्रम लागू गरी सेवा प्रदान गरेकामा धन्यवाद दिँदै आर्थिक वर्ष २०८१।८२ को बजेट सिलिङमा नगरपालिकाका लागि आमा सुरक्षा कार्यक्रम सञ्चालन शीर्षकमा ३८ लाख ८० हजार रुपैयाँ मात्र प्राप्त भएकाले बजेट सुनिश्चित नभएसम्म सञ्चालन गर्न नसकिने पत्रमार्फत जानकारी गराएपछि कार्यक्रम पूर्ण रुपमा बन्द भएको हो ।
तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालले कार्यक्रम सञ्चालनका लागि कम्तीमा २ करोड बजेट आवश्यक पर्ने भएकाले उक्त बजेट सुनिश्चित नभएसम्म कार्यक्र संचालन गर्न नसकिने जानकारी दिए।
आमा सुरक्षा कार्यक्रम रोकिएपछि मेडिकल कलेजमा सेवा लिन आउने गर्भवती महिला र नवजातशिशु सेवाबाट वञ्चित भएका छन् । मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, रक्त संचार, न्यानो झोला, निःशुल्क गर्भपतन र नवजात शिशुको निशुल्क उपचार कार्यक्रम संचालनका लागि बजेट आउने गरेको थियो ।
नवशिशु कार्यक्रम र आमा सुरक्षा कार्यक्रमका लागि लुम्बिनी मेडिकल कलेजलाई वैशाखसम्म १ करोड २ लाख ४० हजार एक सय भुक्तानी गरिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, रक्त संचार, न्यानो झोला, निःशुल्क गर्भपतन र नवजात शिशुको निशुल्क उपचार कार्यक्रम संचालनका लागि बजेट आउने गरेको थियो ।