तानसेन। पाल्पाका स्वास्थ्य संस्था र स्थानीयले दैनिक प्रयोग गर्ने खानेपानी दूषित रहेको पाइएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहका बासिन्दाले प्रयोग गर्ने पानीको गुणस्तर परीक्षण गर्दा सो कुरा पत्ता लागेको हो ।
स्वास्थ्य कार्यालय पाल्पाले स्वास्थ्य संस्था र स्थानीय तहका गरी कुल ५२ वटा खानेपानी योजनाको ११४ वटा नमुना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा ३२ वटा अर्यात २८ प्रतिशत पिउने पानीमा ‘इकोली’ जीवाणु भेटिएको हो ।
५२ वटामध्ये १२ वटा स्वास्थ्य संस्थामा प्रयोग भएको पानीको शुद्धता परीक्षण गरिएकोमा २८ प्रतिशत इकोली जीवाणु भेटिएको कार्यालयका प्रमुख डा.राजेन्द्रकुमार गिरीले जानकारी दिए। अहिले फेला परेको जीवाणुसहितको पानीको प्रयोगले कुनैपनि बेला स्वास्थ्यमा समस्या देखा पर्न सक्ने हुँदा पानीलाई थप शुद्धिकरण गर्नुपर्ने डा.गिरीले बताए ।
जीवाणु फेला पर्नेमा तानसेनका पाँच, रामपुरका १०, पूर्वखोलाका छ, निस्दीका चार, रम्भाका सात, बगनासकालीका पाँच वटा खानेपानी योजनाको पानी परीक्षण गरिएको थियो ।
यस्तै तिनाउका छ, माथागढीका दुई, रैनादेवी छहराका चार,रिब्दीकोटका तीन वटा खानेपानी योजनाको मुहानमै पानीको गुणस्तर परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
इकोली जीवाणु मानिसको दिसा, बङ्गुरलगायत घरपालुवा जनावरको दिशापिसावमा भेटिने जीवाणु हो । यसले हैजा, आउ, झाडापखाला, पानीजन्य अन्य टाइफाइड, पेट टाउको दुख्ने जस्ता रोग लाग्न सक्छ ।
पानीमा रहेको टर्वीडिटी, कन्डक्टिभिटी, क्लोरिनको परिमाण, पीएच र इकोलीको जाँच गर्दा यस्तो फेला पारेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । मानिसले दैनिक पिउने पानीको गुणस्तर सुधार गर्न दुई वर्षदेखि पाल्पाका स्वास्थ्य संस्थाका प्रयोग भएका र धेरै मानिसले प्रयोग गर्ने पानीको गुणस्तर जाँच गर्दै आएको छ ।





















