रामपुरमा करारमा कार्यरत कर्मचारीहरुका लागि अभिमुखीकरण

तानसेन।  रामपुर नगरपालिकाले सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण प्रदान गरेको छ । करारमा कार्यरत कर्मचारीलाई थप जिम्मेवार बनाउनुका साथै उनीहरुको समस्या पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले नगरपालिकाले सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा कर्मचारीहरुले राखेका प्रश्न तथा जिज्ञासा बारे प्रष्ट पार्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सबै तहका कर्मचारीलाई भेदभाव नगरी नगरपालिकाले समान व्यवहार गर्दै आएको बताए।  उनले नगरलाई वर्तमान अवस्था सम्म ल्याउनका लागि कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै थापाले नगरको स्रोत र साधनले भ्याए सम्म कर्मचारीको सेवा सुविधामा नगरपालिकाले विशेष ध्यान दिदै आएको बताए।

नगरपालिकाले गत वर्ष देखि कर्मचारी कल्याणकारी कोष स्थापना गरेको जानकारी दिदै कार्य सम्पादनका आधारमा कर्मचारीको वृति विकासमा थप व्यवस्था गरिने जानकारी दिए। उनले कर्मचारी र जनप्रतिनिधिको परीक्षा सधैं हुने भएकाले जिम्म्मेवार भएर अघि बढ्न आग्रह गरे।

नगरको विकास र कार्यसम्पादनको मुख्य मेरुदण्ड कर्मचारीहरु रहेको बताउँदै जनताको सेवामा समर्पित भएर अघि बढ्न सुझाव दिए।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले कर्मचारीहरुलाई आचारसंहिता पूर्ण रुपमा पालना गर्दै अघि बढ्न अनुरोध गरे । उनले कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।

निमित्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेलले अधिकारको कुरा गर्दै गर्दा कर्तव्यलाई भुल्न नहुने बताए।   नगरपालिकामा कार्यरत कर्मचारी मध्ये ६६ प्रतिशत करार सेवाका कर्मचारी रहेको बताउँदै स्वमुल्याङ्कन गरेर कार्यसम्पादन गर्न अनुरोध गरे।

रामपुर नगरपालिका–५, का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले कर्तव्य निष्ठ भएर लाग्न आग्रह नगरपालिकाको हितमा काम गर्न अनुरोध गरे । उनले सम्झौता अनुसार प्रतिवद्ध भएर काम गर्न सुझाव दिए।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रशासन शाखा प्रमुख युवराज पन्थीले कर्मचारीको काम कर्तव्य, अधिकार र आचारसंहिताको बारेमा अभिमुखिकरण प्रदान गरेका थिए।

उनले कर्मचारीहरुले कर्मचारी कल्याणकारी कोष स्थापना गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम उपप्रमुख बाल कुमारी थापाको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका थिए ।

कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधिहरु संगै करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यस्तै रामपुर नगरपालिकामा करार कर्मचारी मञ्च गठन भएको छ । आज बसेको कर्मचारीहरुको भेलाले कृष्ण बहादुर थापाको अध्यक्षतामा ११ सदस्य तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष सविता राना, सचिवमा गणेश प्रसाद रेग्मी, कोषाध्यक्षमा नारायण प्रसाद गैरे र सहसचिवमा शंकर कंडेललाई चयन गरेको छ ।  अन्यलाई सदस्यमा चयन गरेको छ ।

भेलाले बासुदेव ढकालको संयोजकत्वमा ५ सदस्य सल्लाहाकार समिति गठन गरेको छ । समितिको सदस्यहरुमा दान बहादुर हिस्की, विष्णु मायाँ अर्याल, महेन्द्र प्रसाद श्रेष्ठ र खिम कुमारी सुनार रहेका छन् ।

तपाईको प्रतिक्रिया