शिक्षा सुधारका लागि न्यूनतम मापदण्ड कार्यान्वयन गरिने

तानसेन।  हालै प्रकाशित एसईईको नतिजा कमजोर देखिएपछि पाल्पाका शिक्षा क्षेत्रका सरोकारवालाले सार्वजनिक शिक्षाको न्यूनतम मापदण्ड कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन् ।

सार्वजनिक शिक्षा सुदृढीकरणका लागि जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, शिक्षा शाखा प्रमुख, सरोकारवाला सरकारी कार्यालय, शिक्षकका पेसागत संगठन, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, विद्यार्थी, अभिभावकको सहभागितामा यस्तो प्रतिबद्धता जनाएका हुन् । सार्वजनिक शिक्षाको न्यूनतम मापदण्ड पूरा गर्न मुख्य चार बुँदा तर्जुमा गरी नीति तथा कार्यक्रमको रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताए।

प्रतिबद्धतामा सुरक्षित पूर्वाधारको मापदण्ड, बालमैत्री क्षेत्रमा हुनुपर्ने मापदण्ड, परीक्षा र सिकाइ उपलब्धिको क्षेत्रमा हुनुपर्ने मापदण्ड र विद्यालय सुशासनको क्षेत्रमा हुनुपर्ने मापदण्ड तयार गरिएको छ । यही मापदण्ड विभिन्न बुँदाहरू राखिएको र त्यसलाई कार्यान्वयन गर्ने सबैले प्रतिबद्धता जनाएका छन् ।

सुरक्षित पूर्वाधारको मापदण्डअन्तर्गत बालमैत्री र प्रविधिमैत्री सुरक्षित कक्षा कोठा निर्माण, कक्षा कोठाभित्र र बाहिरी खेल सामग्रीको व्यवस्थापन, विद्यालयको कक्षा कोठा, खेलमैदान, क्यान्टिन र शौचालयको सरसफाइलाई लिइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेन्द्र सुवेदीले बताए।

सफा, स्वच्छ, चिसो/तातो पानीको सहज उपलब्धताको सुनिश्चितता, विद्यालय हातामा बगैंचा, गमलामा फूल रोपण गर्ने र हरियाली वातावरण, बालमैत्री र सुरक्षित बार बन्देजबाट विद्यालय क्षेत्रलाई सुरक्षित, पोषणयुक्त दिवा खाजाको सुनिश्चित गर्ने रहेका छन् ।

तपाईको प्रतिक्रिया