लुम्बिनीमा मन्त्रालय विभाजन, स्वास्थ्य मन्त्रीमा पाल्पाका खेम सारु

तानसेन। लुम्बिनी प्रदेश हालै बनेको नयाँ समीकरणपछि बनेको सरकारले मन्त्रालयको भागबण्डा टुंगो लगाएको छ । शुक्रबार सत्ता समीकरणका दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसबीच सहमति भएपछि विनाविभागीय मन्त्री बनेका ८ जना सांसदले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिएका थिए । मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार नै कार्यविभाजनसँगै सरकारलाई पूर्णता दिनका लागि विनाविभागीय मन्त्रीहरुलाई मन्त्रालयको जिम्मा लगाएका छन् ।

सहमतिअनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्यूठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाएका छन् ।

यस्तै एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा पाल्पाका खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा दाङकी सीता शर्मा चौधरीले जिम्मेवारी पाएका हुन् । कांग्रेसले एक मन्त्री पठाउन बाँकी छ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्मन्त्रीसहित ५, कांग्रेसले ५ र दुई साना दललाई मन्त्रालय बाँडफाँड गरिएको थियो ।

साना दल समेट्न बाकी रहेको हुँदा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आर्चाय आफैले राखेका छन् ।

 

तपाईको प्रतिक्रिया