तानसेन। पाल्पाको रामपुर नगरपालिकाले विद्यालयहरुलाई सेनिटरी प्याडसहित डिस्पोजल मेसिन वितरण गरेको छ । नगरपालिकाले नगर भित्रका माध्यमिक विद्यालयलाई मेसिनसहित सेनेटरी प्याड र अन्य आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको हो ।
नगरपालिका भित्रका १८ विद्यालयलाई डिस्पोजल मेसिन सहित सेनेटरी प्याड र अन्य ६ वटा आधारभूत विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको जनाएको छ ।नगरपालिकाले २४ वटा विद्यालयलाई ११ हजार ६२ प्याकेट सेनिटरी प्याड र १८ वटा नष्ट गर्ने मेसिन वितरण गरेको हो ।
नेपाल सरकारको सशर्त अनुदान सेनिटरी प्याड व्यवस्थापन कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने १ हजार ७ सय ५६ जना विद्यार्थीहरुलाई पुग्ने सेनिटरी प्याड वितरण गरेको नगरपालिकाकी उपप्रमुख बालुकमारी थापाले जानकारी दिइन् । विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारीको समयमा सहज होस भन्ने उद्देश्यले सेनिटरी प्याड वितरण गरेको जनाउँदै सबै विद्यार्थीलाई आवश्यकतानुसार प्यास वितरण गर्न गर्नका लागि विद्यालयका प्रअहरुलाई आग्रह गरिन ।
विगतका वर्षमा सेनिटरी प्याडको प्रयोग पश्चात व्यवस्थापनमा समस्या हुँदै आएको हुँदा यस वर्ष नष्ट गर्ने मेसिनसमेत वितरण गरेको नगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा माध्यमिक विद्यालयहरुलाई १।१ वटा डिस्पोजल मेसिन सहित र अन्य आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको र आगामी दिनमा अन्य विद्यालयलाई पनि डिस्पोजल मेसिन प्रदान गरिने रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए।
नगर भित्रका २४ वटा विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने १ हजार ७ सय ५६ जना छात्राहरुलाई वितरण गरिएको प्यास र डिस्पोजल मेसिन खरिदक नेपाल सरकारको २० लाख रुपैयाँ अनुदानमार्फत गरिएको नगरपालिकाले जनाएको छ ।