
तानसेन। अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिति पाल्पाले त्रिभुवन बहुमुखी क्यापस तानसेनमा अध्ययनरत विद्यार्थीका लागि नेतृत्व विकास तथा उद्घोषण सम्बन्धि तालिम प्रदान गरेको छ । प्रेस सेन्टर नेपाल पाल्पा शाखाको सहयोगमा तानसेनस्थित सहीद प्रतिष्ठान भवन तीन दिने तालिम सम्पन्न गरेको हो।
जिल्लाका अनेरास्ववियू (क्रान्तिकारी)का सदस्यहरुलाई नेतृत्व विकास, उद्घोषण, आधारभूत पत्रकारिता, राजनैतिक एवं समसामयीक विषयमा जानकारी दिइएको थियो । तालिमको अवधिमा सहजकर्ता पत्रकार कृष्ण दर्नाल र कमल अधिकारीले आधारभूत पत्रकारिता, उद्घोषणसंगै नेतृत्व विकासका बारेमा प्रशिक्षार्थी विद्यार्थीलाई जानकारी दिएका थिए ।
यस्तै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, संविधान सभा सदस्य लिला सोमै, नेकपा (माओवादी केन्द्र) पाल्पाका संयोजक राजेन्द्र विश्वकर्मा, माअोवदी केन्द्रकै तानसेन नगर कमिटी अध्यक्ष प्रतीक्षा गाहा सिंजाली, अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय सदस्य पदम सोमै, पूर्व पाल्पा जिल्ला उपाध्यक्ष बालकृष्ण कार्कीलगायतले राजनीतिक र नेतृत्व विकासका बारेमा प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागी विद्यार्थी गंगा बाह्रघरेले आफूहरुले सिकेका कुरा दैनिक जीवन र कार्यसम्पादनमा लागू हुने हुँदा तालिम निकै प्रभावकारी भएको बताइन् । यस्तै सहभागी सीता कुमालले आफूहरु अघि आएर आफ्नो परिचय दिनसमेत डराउने अवस्थामा रहेकोमा तालिम लिएपछि औपचारिक र अनौपचारिक कार्यक्रम संचालन गर्न तथा सबै ठाउँमा गएर आफ्ना कुरा राख्न सक्ने भएको बताइन् ।
सहभागी चर्तुभुज पन्तले सिकेका कुरा व्यवहारमा उतारी आगामी जीवनलाई सफल बनाउन तालिमले टेवा पुग्ने विश्वास व्यक्त गरे। तालिममा ३० जना विद्दार्थी सहभागी थिए। सहभागिलाई प्रमाणपत्रसमेत वितरण गरिएकाे थियाे ।
उक्त तालिम अनेरास्ववियू (क्रान्तिकारी)का जिल्ला सचिव भिम लुंगेलीको संचालन र अध्यक्ष ताराबहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न भएको थियो ।