मेलमिलापकर्ताले के गर्ने के नगर्ने ख्याल गर्नुहाेस्ः कार्यवाहक नगर प्रमुख सिंजाली

पाल्पा । वडा तहबाट विवाद्को समाधान गर्ने उद्देश्यले सञ्चालित ५ दिने मेलमिलापसम्बन्धी उच्च तालिम बिहीबार तानसेनमा सम्पन्न भएको छ ।

साउन २७ गतेदेखि सञ्चालित उच्च तालिममा तानसेन नगरपालिकाभित्रका १४ वडाका २० जना मेलमिलापकर्ताको सहभागिता रहेको थियो । मेलमिलाप सम्वन्धी आधारभूत तालिम लिइसकेका मेलमिलापकर्ताहरु यो तालिममा सहभागी भएका हुन ।

तानसेन नगरपालिको आयोजना र प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र र द एसिया फाउन्डेसन नेपालको सहयोगमा सञ्चालित तालिम समापन कार्यक्रममा तानसेन नगरपालिकाकी कार्यवाहक नगर प्रमुख प्रतिक्षा सिंजालीले मेलमिलापकर्ताले के के गर्ने र के के नगर्ने भन्ने विषयमा ख्याल गरेर मात्र मेलमिलापको काम गर्नुपर्ने बताइन् । उनले तानसेन नगरपालिकाले मेलमिलापकर्ताको क्षमता विकासका क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताइन् ।

कार्यक्रममा मेलमिलाप परिषदका सदस्य चुप बहादुर थापाले अदालतमा आएका मध्ये ५० प्रतिशत विवाद मेलमिलापबाट टुंगो लगाउने तयारी सर्वोच्चको रहेको बताए । च्यातिएको शरीर डाक्टरले सिलाई निको पारेझँै, विवादहरुलाई मेलमिलापका माध्यमबाट मिलाउने जिम्मेवारी मेलमिलापकर्तामा रहेको उनले बताए ।

तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले तालिमको अवधिमा सिकेका विषयलाई व्यवहारमा कार्यान्वयन गर्न सके मात्र तालिमको औचित्य पुरा हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा द एशिया फाउन्डेशनका लुम्बिनी प्रदेश संयोजक चुरामणी पोखरेलले तानसेन नगरपालिकामा स्थानीय न्यायिक समितिलाई थप प्रभावकारी बनाउन तालिम लगायतका कार्यक्रम सञ्चालन गरिएको भनाइ थियो ।

५ दिवसीय तालिमको सहजीकरण त्रिपुरा गिरी र शुसिला सिमखण्डा गरेका थिए। तालिमका सहभागी हरि घिमिरे र हिमकुमारी श्रेष्ठले मेलमिलाप सम्वन्धी सिकेका विषयलाई आफूहरुले व्यवहारमा उतार्ने बताएका थिए ।

कार्यक्रमको संचालन तानसेन नगरपालिकाका महिला बालबालिका शाखाका चिना न्यौपानेले गरे । तानसेन नगरपालिकामा मेलमिलापसम्बन्धी उच्च तालिम प्राप्त मेलमिलापकर्ताद्धारा मेलमिलाप सम्वन्धी सेवा प्रवाह गरेको छ । तानसेन नगरपालिकाभित्रका १४ वडामा मेलमिलाप केन्द्रद्धारा विवाद समाधान हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया