तानसेन। पाल्पामा यो वर्ष एक सय ४७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गत जनवरीदेखि हालसम्म सो संख्यामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये ८७ जना जिल्ला भित्रकार अन्य संक्रमित उपचारका लागि जिल्ला बाहिरबाट आएका नागरिक रहेको पाइएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरु र तानसेनस्थित युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि आउने बाहिरी जिल्लाका नागरिकमासमेत संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा.राजेन्द्र कुमार गिरीले जानकारी दिए।
परीक्षणको दायरा वृद्धि भएको र घामपानी अर्थात अहिलेको मौसममा लामखुट्टेको वृद्धिविकासमा टेवा पुग्ने हुँदा पनि संक्रमण धेरै फैलिएको डा. गिरीले बताए।
पछिल्ला वर्षहरुमा जिल्लामा डेंगुको संक्रमण प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ । गत वर्ष जिल्लामा कुल छ सय ५५ जनामा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण नियन्त्रणमा लागि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत् ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरी सचेतना फैलाउन स्वास्थ्य कार्यालयले परिपत्र गरेको छ । डेंगु एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।
डेंगुको संक्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्छ ।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।





















