राहुडाँडाको दुई कोठे भवन उद्घाटन

तानसेन। रामपुर नगरपालिका वडा नं.१० राहुडाँडा निर्माण सम्पन्न भएको हलसहितको पक्की भवनको उद्घाटन भएको छ। २ कोठे भवनको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै नगर प्रमुख थापाले जनताको सहभागितासहितको समन्यव र सहयोगले मात्र हरेक स्थानीय तहको विकासले सार्थकता पाउने बताए। स्थानीय सरकारले सञ्चालन गर्ने योजना तथा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न हरेक स्थानीयबासीको महत्वपूर्ण भूमिका हुने पनि उनले बताए।

उनले भने -“हरेक तहको सरकार र जनताविच सकारात्मक समन्वय र सहयोग सहति हातेमालो गर्न आवश्यक छ ,उहाँले भन्नुभयो– स्थानीय तहको समृद्धिका लागि स्थानीय तहमा सञ्चालन गर्ने हरेक कार्यक्रममा जनताको उत्तिकै भूमिका हुन्छ ।”

नगर प्रमुख थापाले नगरको विकासका लागि स्थानीय सरकारसंग प्रतिपक्षको रुपमा भन्दा पनि समकक्षी भएर काम गर्न आग्रह गरे। नगर प्रमुख थापाले समूहको भवन निर्माणका लागि नगरपालिकाको थोरै लगानीबाट पनि गुणस्तरीय संरचना निर्माण गरेकोमा कामको प्रसंशा गरे ।

कार्यक्रममा वडा नं.१० का अध्यक्ष तोयानाथ सारु थापाले जनताको चाहना र आवश्यकता अनुसार जनप्रतिनिधिले काम गर्दै आएको बताए । उनले स्थानीय सरकारबाट विनियोजित बजेटको सही कार्यान्वयन गर्न सके विकासले चाँडो फड्को मार्ने उल्लेख गरे। उनले वडाको विकासका लागि कुनै दल विषेश भन्दा पनि आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने भन्दै नवनिर्मित भवनलाई बहुउपयोगी बनाउन आग्रह गरे।

कार्यक्रममा चेतनशील आमा समूहका अध्यक्ष विष्णुमाया खाम्चाले देउसी भैलोलगायतका विभिन्न कार्यक्रमबाट संकलित रकम र नगरपालिकाको विषेश सहयोगमा भवन निर्माण गरेको बताइन् । उनले आफूहरुको आवश्यकतालाई मध्येनजर गरेर रामपुर नगरपालिकाले विभिन्न चरणमा बजेट विनियोजन गरेकोमा धन्यवाद दिंदै भवनलाई भौतिक संरचनामा मात्र सीमित नराखी बहुउपयोगी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

निर्माण समितिका संयोजक भुवान सिं सिंजालीले कुनै आस्था भन्दा पनि माथी उठेर जनताको आवश्यकतालाई बुझ्न आवश्यक रहेको भन्दै नगर सरकारले गरेको कामको प्रसंशा गरे।  उनले १६ लाख ६० हजार रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको आम्दानी खर्च सार्वजनिक गरे।

रामपुर नगरपालिकाको ६ लाख ५० हजार , चेतनशिल आमा समुहको ६ लाख २० हजार ,बाबा समुहको १ लाख, सिर्जनशिल युवा क्लवको २० हजार र स्थानीयको जनश्रमदानमा हलसहितको २ कोठे एक तले पक्कि भवन निर्माण सम्पन्न भएको हो ।

भवन निर्माण सम्पन्न भए पछि विभिन्न समुह , क्लव , टोल विकास संस्था लगाएत विभिन्न संस्थाको बैठक बस्न, तालिम सञ्चालन गर्न,विभिन्न कार्यक्रम गर्न सजिलो हुने स्थानीय राजु गुरुङले बताए।

तपाईको प्रतिक्रिया