पाल्पामा एचआइभी सङ्क्रमणबाट बच्न ‘पेप’ सेवा सुरु

तानसेन।  एचआइभी सङ्क्रमणबाट बच्न पाल्पामा पहिलो पटक ‘पेप’ सेवा सुरु भएको छ । जिल्लास्थित नेपाल परिवार नियोजन सङ्घले एचआइभी सङ्क्रमण रोक्न प्रभावकारी हुने ‘पेप’ सेवा तानसेनमा सुरु गरेको हो ।

एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई लक्षित गरेर सङ्घले सेवा सुरु गरेको हो । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायतका जिल्लाका मानिसलाई यो सेवा दिइने शाखा प्रवन्धक सोबाकान्त न्यौपानेले जानकारी दिए।

एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका व्यक्ति, यौनकर्मी, समलिङ्गी पुरुष, ट्रान्सजेन्डर व्यक्ति वा सङ्क्रमितका साथीको सुरक्षा सुनिश्चित गर्न सेवा सुरु गरिएको उनले बताए।  प्रेप नियमित सेवन गर्दा ९९ प्रतिशत सङ्क्रमित हुनबाट जोगिने उनले जानकारी दिए।

प्रेप एक प्रकारको सेवन गर्ने औषधि हो । प्रेप केवल एचआइभी सङ्क्रमणको सुरक्षाका लागि मात्र हुने भएकोले अन्य यौनजन्य रोगबाट बच्न नसकिने वरिष्ठ मेडिकल अधिकृत राकेशलाल बज्राचार्यले बताए। प्रेप औषधि खानुभन्दा अगाडि र प्रयोग गरिरहेको समयमा नियमित रुपमा एचआइभी परीक्षण गर्नुका साथै चिकित्सकसँग परामर्श लिनुपर्नेछ।

पाल्पामा हाल करिब ३५० बढी एचआइभी सङ्क्रमित रहेकामा दुई जनाले बाहेक सबैले औषधी सेवन गरेका छन् । ती सङ्क्रमितको सम्पर्कमा रहेको व्यक्तिलाई मात्र पेप सेवा दिन सकिने हो भने एचआइभी सङ्क्रमण न्युनीकरण गर्न सकिने स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले बताए।

तपाईको प्रतिक्रिया