गणतन्त्रको उषाकाल
माधवप्रसाद पाेखरेल
गणतन्त्रको उषाकालमा धमिराको ताँती
गणतन्त्रमा बसेर हाँक दिन्छन् साथी ।
गणतन्त्रको कोपिलामा बर्षाउदैछन् गोली
गोली भन्दा बलियो छ जनताको बोली ।
गोमनरुपी सापहरु सलबलाउन थाले
भदौरे भेलहरु गडगडाउन थाले ।
गगनमा गड्याङगुडुङ कालाकाला बादल
धर्तीमा मुसाहरुका भ्रष्टाचारी खाडल ।
ढुङ्गामाथि पलाउदैछन् अनेक थरी घाँस
छिटोछिटो वृद्धिहुन्छ उपयोगी बाँस ।
ढोरपाटनको आरक्षणमा सयौं थरी जन्तु
लामो समय बाँच्दैनन् माकुराका तन्तु ।
भोकै जिउने गरिवहरु उठ अब सारा
गणतन्त्र जोगाउनलाई जुटौ सर्वहारा ।
भू. न. पा. ३ अर्घाखाँची



