तानसेन। लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको निर्णयको प्रभाव देखिन थालेको छ । सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थकर्मीको नाम राखेर निजी अस्पताल तथा स्वास्थ्य संस्थाले प्रचार गरेकोमा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले त्यस्ता चिकित्सकलाई कारबाही गर्ने चेतावनीसहित निर्णय गरेपछि अहिले सो निर्णय कार्यान्वयनमा आउन थालेको छ ।
निजी अस्पताल तथा स्वास्थ्य संस्थाले सरकारी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको नाम मेटाउन थालेका छन् । लुम्बिनी प्रदश स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालको नाम र पद प्रयोग गरी नीजि स्वास्थ्य संस्थाको ओ.पि.डी टिकट, साइन बोर्ड, आमसञ्चार माध्यम तथा सामाजिक सन्जालमार्फत प्रचार प्रसार नगर्न निर्देशन जारी गरेकोमा अहिले नियन्त्रणमा आएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालले कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई पनि मन्त्रालयको पत्रानुसार निर्देशन जारी गरेपछि निजी स्वास्थ्य संस्थाहरुमा नाम मेटाउने अभियानले तिब्रता पाएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले जानकारी दिए। स्वास्थ्य मन्त्रालयको निर्देशन तथा निर्णय स्वागतयोग्य भएको बताउँदै मेसु ढकालले आफ्नो अस्पताल मातहतका कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कार्यान्वयनका लागि कडाईका साथ लागू गरिने बताए।
लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि दीर्घकालिन र तत्कालिन योजना निर्माण गरी अघि बढिएको उल्लेख गरेका छन् । उनले आफू मन्त्री पदमा आएसंगै सरकारी अस्पतालमा जागिर खाने तर, निजी स्वास्थ्य संस्थामा आफ्नो नाम झुण्ड्याएर दिन बिताउने परिपाटीलाई अन्त्य गर्नेगरी निर्णय गरेका थिए ।
प्रदेश सरकार मातहतका सबे सरकारी अस्पतालहरुमा जनशक्ति व्यवस्थापन, उपकरण व्यवस्थापनलगायतका कामका लागि आवश्यक व्यवस्था गर्न मन्त्रालय लागिरहेको उनि उनले बताएका छन् ।
गत साउन २८ गते बसेको मन्त्रीयस्तरीय बैठकको निर्णयले सरकारी नियुक्ती खाएकाहरुको नाम र पद प्रचारका लागि निजी स्वास्थ्य संस्थामा राख्न नपाइने निर्णय गरेको थियो ।