तानसेन। रामपुर नगरपालिकाले वडावडामै पुगेर बैंक खाता खोल्ने व्यवस्था मिलाएको छ । नगरपालिकाभित्र कारोबार गर्ने बैंक तथा रामपुर नगरपालिकाबीच सहमतिअनुसार नगरभित्रका बैंकहरूले दिने सेवा र नगरपालिकासँगको समन्वयलाई बढावा दिन यस्तो व्यवस्था गरिएको हो।
सामाजिक सुरक्षा भत्ता लिने नगरबासी लाभग्राहीहरूको सुविधा र योजनाका उपभोक्ता समितिको बैंक खाता सञ्चालनमा सहजताको लागि वडागत तमहा बैंक खाता खोल्ने सहमति भएको नगरपालिकाले जनाएकाे छ । नगरपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाको बैंक खाता खोल्न हरेक वडामा पुगेर बैंकिङ सुविधा दिने निर्णय भएको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए।
रामपुर नगरपालिकाभित्र ९ वटा बैंक र वित्तीय संस्था रहेका छन् । नगरपालिकाका सबै वडा कार्यालयमार्फत योजना उपभोक्ता समितिको बैंक खाता खोल्न घुम्ती सेवामार्फत नगरबासीहरूलाई सामाजिक सुरक्षाभत्ता वडा तथा टोलबाटै वितरण गरिने पनि नगरपालिकाले जनाएको छ ।
रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ मा नगरपालिकाभित्र सञ्चालन गर्ने योजना उपभोक्ता समितिको खाता सञ्चालनमा एक रूपता ल्याउन नगरपालिकाभित्रका सबै बैंकहरूलाई नगरपालिकाले आग्रह गरेको पनि जनाएको छ ।
ज्येष्ठ नागरिक र शारिरिक रूपले फरक क्षमताका व्यक्तिहरूलाई प्राथमिकता दिएर सेवा प्रवाह गरी बैंकमार्फत दिने सेवालाई प्रभावकारी र सहज बनाउन यो कार्यले राहत मिल्ने विश्वास नगरपालिकाले लिएको छ ।