पाल्पाका स्थानीय तहहरुमा बजार अनुगमन

तानसेन। चाडपर्व नजिकिएसंगै पाल्पामा बजार अनुगमनले तीव्रता पाएको छ । स्थानीय प्रशासनसंगै स्थानीय तहहरुले पनि पर्वलक्षित बजार अनुगमन बढाएका हुन् । चाडपर्वको समयमा अखाद्य वस्तुको विगविगी र बजार महँगो भएको जनगुनासो बढेपछि तानसेन, रामपुर, माथागढी, बगनासकाली, रिब्दीकोटका मुख्य बजारको अनुगमन गरिएको हो।

अनुगमनका क्रममा विभिन्न पसलहरुमा म्याद गुज्रेका अखाद्य वस्तु र पसल दर्ता नभई सञ्चालन भएको पाइएको छ । सरोकारवाला निकायहरुको संयुक्त अनुगमनले अखाद्य वस्तु जफत गरी नस्ट गर्ने, व्यवसाय दर्ता गरेर संचालन गर्न निर्देशन दिने, मापदण्ड पूरा नगरी व्यवसाय संचालन गर्नेलाई सुधारको सुझाव दिने र आगामी दिनमा गल्ती दोहोराएमा कारबाही गर्ने जानकारी दिएका छन् ।

मुख्यगरी खाद्यान्न कस्मेटिक र पर्वका बेला धेरै व्यापार हुने पसलको अनुगमन गरिएको छ। पर्वका बेला हुन सक्ने बदमासी र कालोबजारीका कारण उपभोक्ता मारमा परेको भन्दै सरोकारवाला निकायले अनुगमनलाई नियमित गर्नुपर्ने माग बढेपछि सबैजसो स्थानीय तहले अनुगमन गरेका छन् ।

उता उपभोक्ताले भने पर्वलक्षित मात्रै नभएर नियमित अनुगमन गर्नुपर्ने बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया