पाल्पामा २२५ जनामा स्क्रब टाइफस संक्रमण

तानसेन।  पाल्पामा यो वर्ष २२५ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । जिल्लास्थित पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार गराउन आएकामध्ये सो संख्यामा संक्रमित फेला भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यो बाहेक अन्य स्वास्थ्य संस्था र निजी मेडिकलमा उपचार गाउनेमा पनि यो रोगको संक्रमित फेला परेको तर तथ्यांकमा उल्लेख नगरिएको स्वास्थ्य कार्यालय ल्याब टेक्निसिएन मधुसुधन भट्टराईले जानकारी दिए । अहिलेको मौसममा सबै भन्दा धेरै संक्रमित पत्ता लाग्ने चिकित्सकहरुले बताएका छन् ।

गत वर्ष पाल्पामा तीन सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांकमा उल्लेख छ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।

यो जीवाणु मुसामा समेत पाइन्छ । विशेष गरी खेतबारीमा काम गर्ने क्रममा किर्नाले टोक्दा यो रोग लाग्ने गर्दछ । समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सोलगायतका अंगमा संक्रमण गराउँछ भने बहुअंग विकार (मल्टी अर्गन डिस्फंसन) को अवस्था पनि सिर्जना हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

यो रोग लागेमा उच्च ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने, धेरै टाउको दुख्ने, आँखा रातो हुने, जोर्नी र मांशपेशी दुख्ने खोकी लाग्ने, वान्ता आउने, पेट दुख्ने र पखला लाग्ने, शरीरमा रातो बिमिरा आउने टोकेको ठाउँमा कहिले कहीँ कालो दाग देखिने जस्ता लक्षण देखा पर्दछ। खेतबारीमा वा झारपात बढी भएको ठाउँमा काम गर्ने, जंगलमा जाने मानिसमा यो रोग सर्ने जोखिम हुन्छ । यस्तो ठाउँमा मुसाको बासस्थान बढी हुने भएकाले मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेर यो रोग सार्ने सम्भावना हुन्छ ।

स्क्रब टाइफसबाट बच्न खाली खुट्टा खेतबारी वा जंगलमा जानु हुँदैन । खेतबारी वा जंगलमा जानै परे गमबुट लगाउने र शरीर पुरै ढाकिने गरी कपडा लगाउनुपर्छ । जसले गर्दा शरीरमा किर्ना प्रवेश गर्न पाउँदैन र त्यसको टोकाइबाट बच्न सकिन्छ । यो रोग मानिसबाट मानिसमा भने नसर्ने चिकित्सकले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer