रैनादेवीमा धार्मिक, पर्यटकीय स्थलको प्रचार-प्रसार

तानसेन। रैनादेवी छहरा गाउँपालिकाले प्रचार प्रसारबाट ओझेलमा परेका पर्यटकीय स्थलको प्रचारमा जुट्ने भएको छ । आन्तरिक र बाह्य पर्यटकका लागि आर्कषक तथा मनमोहक स्थान भएरपनि प्रचार अभावले ओझेलमा परेको भन्दै गाउँपालिकाले ८ वटै वडामा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलहरुको सूची नै सार्वजनिक गरेको हो ।

पछिल्लो समय मानिसहरु घुम्ने प्रचलन बढेको तर पालिका भित्रका धार्मिक र पर्यटकीय ठाउँ पहिचान नहुँदा मानिसहरु अन्य स्थनामा जाने गरेको हुँदा पालिका भित्रकै आकर्षक गन्तव्यको प्रचार प्रसार गरी पर्यटकीय तथा धार्मिक गतिविधि बढाउन अभियान शुरु गरिएको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भटराईले जानकारी दिए ।

पालिकाले पर्यटकलाई फोटोमार्फत धार्मिक तथा पर्यटकीय स्थलहरुको जानकारी गराउने, घुम्न तथा अवलोकनको लागी उत्साहित बनाउने, ती स्थानहरुमा आवश्यक पूर्वाधार निर्माण गर्ने जस्ता कार्य अघि सारेको छ ।

पहिलो चरणमा ८ वटै वडाका १२ स्थानका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको होडिङ बोर्ड बनाएर मूख्य, मूख्य चोकहरु, बजार क्षेत्र र ८ वटै वडाका महत्वपूर्ण स्थानमा राखी जानकारी दिने कार्य गरिने तथा आगामी दिनमा पूर्वाधार निर्माण तथा पर्यटकको चाहनाअनुसारका अन्य संरचना बनाउने कार्य गरिने पालिकाका उपाध्यक्ष्ँ युवराज थापाले बताए।

रैनादेवीमा ऐतिहासिक गढी, किल्ला, विभिन्न मठ मन्दिर र प्राकृति रुपमा मनोरम दृश्य छन् । केही स्थानमा पालिकाले पनि पूर्वाधार निर्माण गरेको छ।

तपाईको प्रतिक्रिया