तानसेनमा ब्लड बैंक संचालन गर्ने तयारी

तानसेन। पाल्पाका चार अस्पतालसहित एउटा डायलासिस सेन्टरका लागि अभाव भएको रगत परिपूर्ति गर्न ब्लड बैँक स्थापना अभियान चलिरहेको छ । अभियान चलाएको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ब्लड बैँक स्थापनाका लागि हालसम्म ४४ लाख ७५ हजार रकम सङ्कलन गरेको जनाएको छ ।

संस्थामा आबद्ध रहेका यशस्कर सदस्यहरूबाट छ लाख, विशिष्ट सदस्यहरूबाट २२ लाख, स्मृतिकोषबाट सात लाख, विभिन्न सङ्घसंस्था र विद्यालयबाट छ लाख ८० हजार र स्वदेश र विदेशका नेपाली नागरिकहरूबाट तीन लाख ९५ हजार सङ्कलन भएको शाखाका सभापति बावुराम कार्कीले बताए।

संस्थाले पत्रकार सम्मेलन गरेर शाखाले ‘हाम्रो बल्ड बैँक, हामी बनाउँछौँ’ अभियानबाट हालसम्म ४४ लाख ७५ हजार रुपियाँ रकम सङ्कलन भएको र थप अभियानहरु संचालन गरिने अध्यक्ष कार्कीले बताए।

रेडक्रसले मात्रै ब्लड बैंक स्थापना गर्न नसकिने हुँदा सबै पाल्पालीले सहयोग गरेर मात्रै अभियान पूरा हुने अध्यक्ष्ँ कार्कीले सो बखत बताए। ब्लड बैँक स्थापनाको भवन निर्माण गर्न तानसेन–१, भुँसलडाँडामा नौँ आना जग्गा पाल्पा लायन्स क्लबको सहयोगमा प्राप्त गरिएको र भवन निर्माणका लागि शहरी विकास मन्त्रालयबाट चालु आर्थिक वर्षमा एक करोड ५३ लाख रुपियाँ विनियोजन भएको छ ।

ब्लड बैंक संचालनका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि स्वास्थ्य मन्त्रालयबाट ५० लाख रुपियाँ विनियोजन भएको शाखा उपसभापति भीमसेन कार्कीले बताए। ब्लड बैंक दीगो रुपमा सञ्चालनका लागि कोष र पूर्वाधार निर्माण गर्न छ करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ।

ब्लड बैँक स्थापनाका लागि पाल्पाका दुई नगरपालिकाबाट १०/१० लाख रुपियाँ र आठ वटा गाउँपालिकाबाट पाँच/पाँच लाख रुपियाँ सहयोग प्राप्त हुने भएको शाखाले जनाएको छ ।

शाखाले आफ्नै कार्यालय परिसरमा तत्कालका लागि ल्याब निर्माण गरी ब्लड बैंक संचालन गर्ने तयारी पनि गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया