तानसेन। पाल्पाको सत्यवती मेलामा चिच्याएर वर माग्न पुगेका भक्तजनले ३२ लाख ८१ हजार ८७० रुपैँया भेटी चडाएको पाइएको छ । मेला सकिएपछि आइतबार र सोमबार भेटी गणना गर्दा सो रकम आम्दानी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
तिनाउ –४, को सत्यवतीमा कात्तिक २७ गतेदेखि ३० गतेसम्म पूर्णिमा मेला लागेको थियो । तिनाउ गाउँपालिकाका प्रतिनिधि, कर्मचारी, स्थानीय भद्रभलादमी तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीको रोहबरमा आइतबारदेखि भेटी गन्न सुरु गरिएकोमा सोमबार दिउँसो गणना सक्किएको सत्यवती मन्दिर तथा ताल व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए।
गणनाको क्रममा आइतबार मात्रै २६ लाख बढी भेटी सङ्कलन भएको थियो सोबार अन्य भेटी रकम गणना गरिएको हो । मन्दिरमा भक्तजनले चढाएका नगदसहित बहुमूल्य धातुबाट बनेका गहनाको पनि गणना गरिएको छ । जसमा दश लाल सुनसहित चादी र अन्य बहुमूल्य धातुहरु प्राप्त भएको समितिले जनाएको छ ।
गत वर्ष १८ लाख ५० हजार भेटी सङ्कलन भएको थियो । यो वर्ष भक्तजनको सङ्ख्या बढेको हुँदा भेटी पनि बढेको समितिले जनाएको छ । चार दिनसम्म चलेको चिच्याएर वर माग्ने मेलामा तीन लाख भक्तजन सहभागी भएको अनुमान गरिएको छ ।
सत्यवतीमा हरेक वर्ष तिहार पछिको पूर्णिमामा चिच्याएर वर माग्ने प्रचलन रहेको छ । परापूर्व कालमा सत्यवती बज्यै सत्यको खोजीमा घना जङ्गलको बिच भागमा आई तपस्या गरेर शक्ति प्राप्त गरेको जनविश्वास रहेको छ ।
सत्यवती बज्यैले कानले नसुन्ने भएको हुँदा मध्यरातमा चिच्याएर वर माग्ने प्रचलन रही आएको छ । भक्तजनले चिच्याएर वर मागेमा पूरा भएपछि भाकल अनुसारको बली दिने प्रचलन रहेको छ।
आइतबार संकलन गरिएको भेटी बैङ्कमा दाखिला गरिएको र बाकी भेटी पनि बैंक दाखिला गरिने समितिले जनाएको छ ।