तानसेन। रिब्दीकोट गाउँपालिकाको वडा नं.६ ठिमुरेमा ड्राइभिङ्ग तालिम सुरु भएको छ । वडाको लक्षित कार्यक्रम अन्तरगत वडा भित्रका युवालाई सीप प्रदान गर्नका लागि चार पाङ्ग्रे र दुई पाङ्ग सवारीको तालिम सुरु भएको हो ।
३५ दिनसम्म चल्ने तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सीप प्रदान गरेर युवा स्वरोजगार बनाउने लक्ष्यअनुसार तालिम आयोजना गरिएको बताए।
उनले युवाहरूलाई स्वरोजगारको बाटोमा अग्रसर गराउनुका साथै स्थानीय स्तरमा यातायात सेवा सुधार गर्न तालिमले ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। युवाहरूलाई स्वरोजगार बनाउन कृषि र पशुपालनको क्षेत्र अवसर प्रदान गरिरहेको जनाउँदै उनले गाउँपालिकाले सुन्तला,अकबरे खुर्सानी, दूध तथा दुग्धजन्य परिकार,अदुवा,बेसारलगायतका कृषि जन्य सामग्रीको उत्पादन तथा विक्री वितरणमा पनि सीप सिकेपछि लाग्न सहज हुने बताए।
प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले तालिमले युवाहरूलाई स्वरोजगारका लागि प्रेरित गर्न र रोजगारीको अवसर सृजना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले गाउँपालिकाले स्वरोजगार बन्न चाहने युवाहरूका लागि लागत साझेदारीमा सुरु गरेको ड्राइभिङ्ग तालिमले ग्रामीण क्षेत्रमा बेरोजगारीको समस्या समाधान गर्न र स्वरोजगार सिर्जना गर्न टेवा पुग्ने बताए।
तालिमपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न सहयोग पुग्ने मात्र नभएर सहभागीको आय आर्जनको बाटो खुलेसंगै स्थानीय तहमा आर्थिक समृद्धि ल्याउने लक्ष्य पनि पूरा गर्नका लागि सहभागीलाई आग्रह गरे।
तालिमले विशेष गरी बेरोजगार तथा सीपविहीन युवाहरूलाई लक्षित गर्दै, उनीहरूलाई आत्मनिर्भर र सक्षम बनाउने उद्देश्य लिएको वडा अध्यक्ष एवं पालिकाका प्रवक्क्ता प्रकाश रायमाझीले बताए। वडाको लक्षित कार्यक्रम अनुसार संचालित तालिमले यवा स्वरोगजार र कृषि, पशुपालन तथा ग्रामीण भेगमा हुने विभिन्न कामकाजमा सहजता आउने विश्वास लिइएको उनले बताए ।
गाउँपालिकाको आर्थिक सहयोगमा सुरु गरिएको तालिममा पालिकाका युवाहरू उत्साहित भएर सहभागी भएका छन् । तालिमका क्रममा गाडी चलाउने आधारभूत सीप, ट्राफिक नियम र व्यावसायिक चालक रूपमा विकास गर्न आवश्यक ज्ञान प्रदान गरिने छ ।
तालिममा सहभागी युवाहरूले गाउँपालिकाको प्रयासबाट ड्राइभिङ सिक्ने अवसर पाएको खुसी लागेको बताएका छन् । उनीहरुले सीप सिकेर भविष्यमा राम्रो आय आर्जन गर्न मद्दत गर्ने विश्वासले सहभागी भएको बताएका छन् ।
तालिममा दुई पाङ्ग्रे सवारी अन्तरगत मोटरसाइकल र स्कुटर गरी १७ जना तथा चार पाङ्ग्रे सवारी सिक्नका लागि २५ गरी ३९ जना युवाको सहभागिता रहेको छ ।
तालिममा पालिकाको दुई लाख ५० हजार अनुदान रकम खर्च गर्नेछ । यस्तै लागतको ५० प्रतिहत रकम भने सहभागी स्वयमले तिर्नुपर्ने वडा कायालयले जनाएको छ ।