पाल्पा अस्पतालमा शल्यक्रिया सेवा सुरु हुन्छः मन्त्री सारु

तानसेन। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले पाल्पा अस्पतालले छिटै शल्यक्रिया सेवा सुरु गर्ने बताएका छन् ।

उनले प्रदेश सरकारले अस्पतालको माग अनुसार शल्यक्रिया सेवा सुचारु गर्न अस्पताल सुदृढीकरण कार्यक्रम अन्तरगत ५० लाख रकम विनियोजन गरिएको बताए। सीमित स्रोत साधनका बिच पाल्पा अस्पतालले अधिकतम रुपमा गुणस्तरीय सेवा प्रवाह गर्दै आएकोले न्यूनतम सेवा मापदण्डको नतिजामा गत वर्षभन्दामा दश प्रतिशत वृद्धि गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै सरोकारवाला सबैलाई बधाई ज्ञापन गरे।

अस्पतालले बुधबार आयोजना गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तरगत पाल्पा अस्पतालको अनुगमन मुल्याँकन तथा समीक्षा कार्यक्रममा मन्त्री सारुले सुशासन र आर्थिक नियमितताका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका हुन् ।

उनले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको गुनासोलाई सम्बोधन गर्न आवास व्यवस्थापनका लागि कार्यविधि बनाएर लागू गर्ने चरण रहेको जानकारी दिए। सेवा सुविधाको शुल्क सहितको बडा पत्र मापदण्ड अनुसार राख्न कडाई गर्नुका साथै मन्त्री सारुले मानसिक स्वास्थ्य समस्याको अवस्था गम्भीर बन्दै गएकोले न्यूनीकरणका लागि मनोपरामर्श, प्रजनन् स्वास्थ्य र बालविवाह न्यूनीकरणमा सेवा दिनेगरी स्वास्थ्यकर्मी तयार गरिएको बताए। उनले प्रदेश सरकार स्वास्थ्यकर्मी र कर्मचारीको वृद्धि विकासमा प्रतिबद्ध रहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया