तानसेन। पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं २ जल्पाको ढोलीमाराका किसानले किवी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । केही वर्षदेखि सामूहिक रुपमा पाँच रोपनी क्षेत्रफलमा लागाइएको किवीले राम्रो उत्पादन दिएपछि यो वर्ष सात क्वाइन्टल बढी किवी विक्री गर्न सफल भएको किसानले बताएका छन् ।
करिब आठ सय बोट विरुवा रोपण गरेको किवीले राम्रो उत्पदान दिएपछि यो वर्ष मात्रै दुई लाख ८० हजारको बिक्रीबाट आम्दानी हुने अनुमान गरिएको समूहका किसान डोलबहादुर घर्तीले जानकारी दिए।
ढोलीमारा गाउँका ६० जना कृषकहरु यस समूहमा आबद्व भएर काम यो खेती गर्दै आएका छन् । मूल्य पनि राम्रो रहेको र बजारको कुनै समस्या नरहेको हुँदा यो खेतीम किसानको आकर्षण बढेको हो। किविलाई ग्रेडिङ गरी प्रतिकिलो ४०० गरे विक्री हुँदै आएको छ ।
समुद्री सतहदेखि एक हजार दुईसय मीटर उचाइँ माथि उत्पादन गर्न सकिने यो बिरुवा परीक्षण गर्दा राम्रो उत्पादन भएपछि समूहमा लगानी गरी स्थानीयको जीवनस्तर उकास्न, स्थानीय तहले पनि विभिन्न सहयोग गर्दै आएको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए।

