तानसेन। पाल्पामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष ३४ हजार ७६२ मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष उत्पादन बढेर ३६ हजार आठ मेट्रिकटन पुगेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
केन्द्रका प्रमुख प्रमुख सन्तोष चौधरीका अनुसार गत वर्ष वर्खे धानको उत्पादकत्व ४.२ मात्र रहेकोमा यो वर्ष बढेर ४.६ पुगेको हो । यो वर्ष पर्याप्त वर्षात् हुँदा गत वर्षको तुलनामा यो वर्ष धेरै क्षेत्रफलमा धान रोपाएँ भएको थियो ।
खेती हुने क्षेत्रफल बढ्नु मल, बिउ सहज रुपमा उपलब्ध हुनु आदि कारणले उत्पादनमा बृद्धि भएको हो । पाल्पामा यो वर्ष आठ हजार ६२० हेक्टर क्षेत्रमा धान खेती भएको थियो ।
गत वर्ष आठ हजार २०० हेक्टर क्षेत्रमा मात्र खेती भएकोमा यो वर्ष वर्षात्को पानीले खेती हुने क्षेत्र बढेको हो ।