पाल्पा। आजदेखि मौसममा बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको हो ।
विभागले मौसमी बुलेटिन सार्वजनिक गर्दै पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातसँगै जाडो पनि बढ्ने जनाएको छ । आज बिहानैदेखि चिसो हावा लागे, केही स्थानमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरो लागेको छ ।
कतै हुस्सु–कुहिरो र कतै वर्षा–हिमपातको असरले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयन क्षेत्रमा असर पर्न सक्ने र जाडो पनि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
महाशाखाका मौसमविदहरुका अनुसार अहिलेको प्रणालीको प्रभावले मंसिर २३ गते (आइतबार) साँझदेखि मंसिर २४ गते (सोमबार) रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुनेछ ।
यसैगरी गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुनेछ ।
साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान विभागले गरेको छ । गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागले गत असोजमा ऋतुगत जलवायु आँकलन सार्वजनिक गर्दै यस वर्षको हिउँदयाममा जाडो कम र वर्षा बढी हुने जनाएको थियो ।