दोस्रो मेयर कप ब्याडमिन्टनको उपाधि दुई नम्बर वडालाई

तानसेन। तानसेनमा सञ्चालित नगर स्तरीय दोस्रो मेयर कप रनिङ्ग शिल्ड ब्याडमिन्टन प्रतियोगिताको उपाधि वडा न २ ले हात पारेको छ । ब्याडमिन्टन प्रतियोगितामा वडा न ३ दोस्त्रो भएको छ । यस्तै वडा नं. ७ ले तृतीय स्थान हासिल गरेको छ । वडा नं. १ को कबर्डहलमा सञ्चालन भएको प्रतियोगिताको समापन तानसेन वडा न ४ का वडा अध्यक्ष एवम तानसेन नगरपालिका खेलकुद समितिका संयोजक हेमन्त राज शाक्यको अध्यक्षतामा भएको हो ।

खेलका विजेतालाई पुरस्कार वितरण गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले खेलकुदले व्यक्तीको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने बताए।

उनले यसरी आयोजना गरिएका प्रतियोगिताले नगरका युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मंच उपलब्ध गराउने मात्र नभई, उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेलाडीका रूपमा अघि बढ्न प्रोत्साहन गर्ने बताए। यो प्रतियोगिता नगरपालिकाको खेलकुदप्रतिको प्रतिबद्धताको एउटा उदाहरण भएको पनि उनले बताए ।

नगर प्रमुख श्रेष्ठले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै, खेलाडीहरूलाई आवश्यक सहयोग र सुविधाहरू उपलब्ध नगरपालिका तयार रहेको बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीराम नागिला, तानसेन नगरपालिकाका प्रवक्ता यादवसिङ कार्की,तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,तानसेन वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्य, पाल्पा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष बसन्त बज्राचार्य लगायतले खेलको माध्येमबाट नगरको विकास र युवालाई सक्षम बनाउन सकिने बताएका थिए ।

तानसेन नगरपालिका खेलकुद विकास समिति संयोजक हेमन्तराज शाक्यले खेलकुद केवल मनोरञ्जनको साधन मात्र नभई, समाजलाई अनुशासन, एकता र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने माध्यम रहेको बताए। उनले तानसेन नगरपालिकाले खेलकुद क्षेत्रको महत्वलाई विशेष प्राथमिकता दिँदै यस क्षेत्रको समग्र विकासका लागि खेलकुद विकास समिति गठन गरेको बताए।

स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न, खेलकुदका पूर्वाधार निर्माण गर्न र विभिन्न प्रतियोगिताको आयोजना गरी खेल संस्कृतिको विस्तार गर्न योजनाबद्ध कार्य अघि बढाएको बताउदै अहिले नगर सरकारले नगरस्तरीय दोस्त्रो मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गरेको उनले बताए।

तपाईको प्रतिक्रिया