
पाल्पा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले विद्यालय शिक्षा सुधारका लागि संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानी आवश्यक रहेको बताएका छन् । उनले विद्यालय शिक्षामा व्यापक सुधारको खाँचो रहेको र यसका लागि प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तानसेन नगरपालिका–२, नारायणथानमा अवस्थित श्री देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सवको उद्घाटन गर्दै सभामुख घर्ती मगरले विद्यालयको भौतिक संरचना, जग्गा व्यवस्थापन र अन्य स्रोतसाधनको विकासका लागि प्रदेश सरकारको पहल रहने बताए । साथै, संघीय शिक्षा विधेयकमा ढिलाइले केही समस्या सिर्जना भए पनि आफू कानून निर्माणका लागि सधैं सचेत रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले विद्यालयको जग्गा व्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमादेवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्की, शिक्षा शाखा प्रमुख कोपिला न्यौपाने, अखिल नेपाल एकीकृत शिक्षक संगठन पाल्पाका अध्यक्ष बासुदेब अर्याल , नेपाल शिक्षक महासंघ पाल्पाका सह अध्यक्ष दिपक क्षेत्री, प्रेस सेन्टर नेपाल पाल्पाका अध्यक्ष कृष्ण दर्नाल, हिरा आचार्य, बिद्यार्थी सुलभ भट्टराई, रोशनी पाण्डे, अक्षयकोष दाता राम हरि अर्याल शिक्षक प्रतिनिधि राम कृष्ण ज्ञवाली लगायतले विद्यालयको शौक्षिक गुणस्तर र नतिजा राम्रो भएकोले यस विद्यालयबाट अरुले पाठ सिक्नेपर्ने बताए ।
विस २००९ मा स्थापना भएको देववाणी विद्यालय यस क्षेत्रकै उत्कृष्ट विद्यालयमध्ये एक हो । हाल विद्यालयमा ५०१ जना विद्यार्थी र २९ जना शिक्षक–कर्मचारी कार्यरत छन् । विद्यालयले वार्षिकोत्सवको अवसरमा रक्तदान, हाजिरीजवाफ, नृत्य प्रतियोगिता र मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको थियो । विभिन्न विधामा उत्कृष्ठ हुने शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
प्रधानाध्यापक कृष्ण बहादुर थापाले विद्यालयले भाडामा जग्गा लिएर अस्थायी संरचनामा कक्षा सञ्चालन गर्नुपरेको जानकारी दिए । उनले स्थायी संरचनाको लागि तत्काल जग्गा व्यवस्थापन गर्न सरकारसँग माग गरे । कार्यक्रमको सञ्चालन शिक्षक नारायण चालिसेले गरेका थिए ।