तानसेन। पाल्पाको तानसेन नगरपालिका वडा नं.४ मंखनटोलमा हरेक शुक्रबार लाग्ने साप्ताहिक बजारको शुभारम्भ भएको छ । साप्ताहिक बजारको शुभारम्भ तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र युनोस्पका कन्ट्रि म्यानेजर कमल कार्कीले संयुक्त रूपमाले गरेका हुन् ।
ऐतिहासिक शहर तानसेनको मंखनटोलमा शुक्रबारदेखि साप्ताहिक बजारको शुभारम्भ भएसँगै स्थानीय अर्थतन्त्र र व्यापारमा नयाँ उत्साह थपेको छ । तानसेन सांस्कृतिक सम्पदा र मनोरम प्राकृतिक सौन्दर्यका कारण पर्यटकको आकर्षणको केन्द्र रहँदै आएको छ ।
बजारको शुभारम्भ गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले सडक महोत्सवले तानसेनको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा ठूलो भूमिका खेल्ने बताए। उनले विशेषगरी महिलाहरूको नेतृत्वमा भएको यो कार्यक्रमले नगरलाई आत्मनिर्भर र सशक्त बनाउन प्रेरणा दिने अपेक्षा नगरपालिकाले राखेको बताए। महोत्सवले केवल स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन मात्र नगरी स्थानीय कला संस्कृतिलाई पनि संरक्षण गर्ने महत्वपूर्ण कार्य गर्ने बताए ।
नगरपालिकाकी उप प्रमुख प्रतिक्षा सिङ्जालीले साप्ताहिक बजारले तानसेनलाई व्यापारिक र सांस्कृतिक रूपमा नयाँ उचाइमा पुर्याउने बताइन् । स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा यो एउटा महत्वपूर्ण कोशेढुंगा हुने हुँदा नगरलाई आत्मनिर्भर र सशक्त बनाउने दिशामा लागेको कार्यक्रमलाई नगरपालिकाकोतर्फबाट अझ व्यापक र प्रभावकारी बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
महोत्सवले स्थानीय उत्पादन र परम्परालाई उजागर गर्दै थप पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्तराज शाक्यले बताए।
महोत्सवले स्थानीय समुदायलाई आर्थिक रूपमा सबल बनाउने मात्र होइन, समाजमा आपसी सहकार्य र मेलमिलापको भावना पनि प्रवर्द्धन गर्नेछ। हरेक शुक्रबार जमघट हुने यो महोत्सवले ताजा उत्पादन, सांस्कृतिक प्रस्तुतिहरू र सामाजिक संवादको थलो उपलब्ध गराउने वडा अध्यक्ष शाक्यले बताए।
महिला नेतृत्वको बजार, संयुक्त अर्थतन्त्रको आधार भन्ने मूल नाराका साथ वडा नं. ४ सँग मिलेर मखनटोल टोल विकास संस्थाको आयोजनामा हुने साप्ताहिक बजारका लागि युनोस्प (सिट फर वोमेन) सहयोग रहनेछ ।






















