
पाल्पा । लुम्बनी प्रदेशको पाल्पा र गण्डकी प्रदेशको स्याङ्जा जिल्ला जोड्ने राम्दी पुल निर्माणले तीव्रता पाएको छ । तीन वर्षअघिदेखि सुरु भएको पुल निर्माणको काम आगामी २०८२ असार मसान्तभित्र सक्ने गरी निर्माणलाई तीव्रता दिइएको हो ।
दुई प्रदेश जोड्ने नयाँ पुल निर्माणलाई अढाई वर्षदेखि हिम सगरमाथा कन्ट्रक्सन कम्पनीले निर्माणको काम गरिरहेको छ । वि.स. २०७९ असार ३० गते २७ करोड ७१ लाख नौँ हजार रुपियाँमा पुल निर्माण गर्न सम्झौता भएको थियो ।
सोही सम्झौँता अनुसार अगामी २०८२ असार २९ गतेभित्र पुल निर्माणको काम सक्ने योजना रहेको निर्माण व्यवसायीका प्रतिनिधि सन्तोष गुरुङ्ले जानकारी दिए।
वि.स.२०२८ सालमा सिद्धार्थ राजमार्ग बनेका बेला निर्माण भएको ट्रस पुल जीर्ण भएपछि पुरानो पुलको पूर्वतर्फ ‘आर्च थ्रु’ डिजाइनमा पुल निर्माण थालिएको हो । हालसम्म पुल निर्माणको ६० प्रतिशत बढी काम सकिएको पुल सेक्टर पोखराका प्रमुख ज्ञानेन्द्र कलौनीले जानकारी दिए। हालसम्म पुल निर्माणको मुख्य काम जग निर्माण गर्ने र वाल निर्माणको काम सकिएको छ । फिटिङ्को काम पनि सकिएर वेल्डिङ्को काम भइरहेको छ ।
निर्माण व्यवसायीले हालसम्म १४ करोड रुपियाँ भुक्तानी पाइसकेको छ । नयाँ बनिरहेको मोटरेबल पुलका लम्बाइ १०८ मिटर र चौडाइ ११ मिटरको रहेको आयोजनाले जनाएको छ ।
पुरानो ट्रस पुलभन्दा नयाँ बनिरहेको पुल १५ मिटर लामो हुनेछ । सुरुमा पुल निर्माणमा ढिलाइ भएपनि पछिल्लो एक वर्षयता निर्माणले गति लिएको स्थानीयले बताएका छन् ।
पुरानो ट्रस पुल जीर्ण हुँदा केही वर्षयता १५ टन क्षमताभन्दा बढी भार क्षमताका सवारीसाधन गुडाउन रोक लगाइएको छ ।