पाल्पाकाे बगनासडाँडामा नेपालकै ठूलो झण्डा : पर्यटक आकर्षणको गतिलो गन्तव्य

पाल्पा । बगनासकाली गाउँपालिका वडा नं-९ बगनासमा राष्ट्रिय झण्डाको निर्माण भएपछि पर्यटकहरूको चहलपहल बढेको छ । राष्ट्रिय झण्डा निर्माण भएपछि उजाड जस्तो देखिने बगनासडाँडा पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बन्दै गएको हाे ।

“लोक संस्कृतिको संरक्षण र संवद्र्धन गरौ, पर्यटन प्रवद्र्धन गरौ” भन्ने नाराका साथ नेपालको ठूलो झण्डा सहितको स्मारक क्षेत्रको निर्माण गरिएको हो ।

पाल्पाको बगनासकाली गाउँपालिकाले निर्माण गरेको राष्ट्रिय झण्डा नेपालको सबैभन्दा ठूलो रहेको दावी स्थानीयको छ । यहाँ निर्माण गरिएको राष्ट्रिय झण्डाले यस क्षेत्रलाई सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले विशेष महत्व प्रदान गरेको छ । जसले राष्ट्रिय पहिचान र गौरवलाई उजागर गर्दछ । यस क्षेत्रले पाल्पाकै पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने आशा गाउँपालिकाले लिएको छ ।

राष्ट्रिय झण्डाको स्थापनाले पर्यटकको चहलपहल हुन थालेपछि स्थानीयबासिन्दा निकै उत्साहित देखिएका छन् । स्मारक क्षेत्रमा राखिएको यो झण्डा मात्र नभई त्यस ठाउँबाट देखिने हिमाल सुन्दर दृश्य, तराईका सुन्दर फाँटहरू देख्न सकिने स्थानीयबासिन्दा राम बहादुर विश्वकर्माले बताए ।

“हामीलाई यस झण्डाले हाम्रो क्षेत्रको पहिचानमात्र नभई हाम्रो राष्ट्रिय एकता र गर्वलाई पनि झल्काउँछ भन्ने विश्वास छ । यस क्षेत्रमा पर्यटन आगमन हुँदा स्थानीयबासिन्दालाई रोजगारीका अवसर सिर्जना हुने अपेक्षा लिएको छु ।” विकले भने।

गाउँमा पर्यटकहरू आउने भएपछि गाइड र हस्तकलाका सामग्री बेच्नका लागि धेरै अवसर सिर्जना हुने विकको भनाई छ । स्मारक क्षेत्रको निर्माण २०८१ असार २४ गते सम्पन्न भएको थियो । राष्ट्रिय झण्डा निर्माणकाे कुल लागत सात लाख २१ हजार ६१५ रहेकाे गाउँपालिकाले जनाएकाे छ ।  झण्डाकाे उचाइ ५० फिट र पोलको उचाइ  ७० फिटमा  राष्ट्रिय झण्डा निर्माण भएको हो।

नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा स्थापनाले देशको पहिचान र गौरवलाई उजागर गर्ने र यस क्षेत्रको सांस्कृतिक र पर्यटन क्षेत्रको विकास गरी पर्यटकलाई आकर्षित गर्ने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् । ठूलो राष्ट्रिय झण्डा सहित स्मारक क्षेत्रको निर्माणमा बगनासकाली गाउँपालिका, बेद युवा समूह, र अन्य स्थानीय संस्थाहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया