
तानसेन। बगनासकाली गाउँपालिका १ नम्बर वडा कार्यालय चिर्तुङ्गधारा, पाल्पामा कर सङ्कलन तथा सचेतना अभिवृद्धि तालीम सम्पन्न भएको । बगनासकाली गाउँपालिकाको आयोजनामा स्थानीय करदाता तथा सरोकारवालाहरूको लागि आइतबार तालीम चलाइएको हो ।
तालीममा गाउँपालिकाका आन्तरिक लेखा परीक्षक यादव प्रसाद न्यौपाने र राजस्व शाखा प्रमुख इन्द्र बहादुर थापाले स्थानीय तहमा राजस्व सङ्कलन प्रक्रिया, बहाल विरौटी कर सङ्कलनको प्रक्रिया, करका दायरा, नयाँ कर लागु गर्दा हुने कठीनाई, सङ्कलन गरिएको राजस्व परिचालनको प्रभावकारिता लगायतका विषयमा सहजीकरण गरेका थिए ।
तालीम उद्घाटन समारोहमा बोल्दै राजस्व परामर्श समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष हरीप्रसाद पाठकले कर सङ्कलन, विधि, प्रक्रिया र दायराबारेमा सरोकारवाले चासो राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर सङ्कलन र सङ्कलित करको उचित परिचालनको लागि सरोकारवालाले प्राप्त गरेको ज्ञानलाई समुदायमा अन्य सरोकारवालाहरूमा लैजान र कार्यस्थलमा लागु गर्न आग्रह गरे।
बगनासकाली गाउँपालिका १ नम्बर वडा अध्यक्ष शेर बहादुर चिदीको अध्यक्षता भएको कार्यक्रममा स्वागत १ नम्बर वडा कार्यालयका सचिव विराट गैरे र सञ्चालन राजस्व शाखा प्रमुख इन्द्रबहादुर थापाले गरेका थिए ।
गाउँपालिकाले सबै वडामा तालीम सञ्चालन गर्ने र करदाता सेवा कार्यालयको संलग्नतामा गाउँपालिकाको पायक पर्ने अन्य दुई स्थानमा समेत करदाता शिक्षासहितको कार्यक्रम चलाइने राजस्व शाखा प्रमुख थापाले जानकारी दिए।
तालीममा स्थानीय करदाता, जनप्रतिनिधि र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।