सिद्धबाबा मन्दिरमा महायज्ञको तयारी तीव्र

तानसेन। बगनासकाली गाउँपालिका–८ को सिद्धबाबा मन्दिरमा आउँदो माघ १ गतेदेखि सञ्चालन हुने श्रीमत् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको तयारीलाई तीव्रता दिइएको छ । महायज्ञका लागि मन्दिर परिसरलाई सजावट तथा रंगरोगन गर्ने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको आयोजकले जनाएको छ ।

सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिको आयोजनामा हुन लागेको महायज्ञको उद्देश्य धार्मिक तथा सांस्कृतिक चेतना जगाउनुका साथै सामुदायिक विकासमा योगदान पुरयाउनु रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहन अर्यालले जानकारी दिए । उनका अनुसार महायज्ञको आम्दानीबाट मन्दिरको विकास, संरक्षण तथा धार्मिक पर्यटकको आकर्षण बढाउने विश्वास लिइएको छ । “महायज्ञले धार्मिक, सांस्कृतिक र सामाजिक विकासमा टेवा पुरयाउने छ । स्थानीय समुदायको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझै प्रभावकारी बनाउने विश्वास छ,” उनले बताए ।

महायज्ञ आयोजक समितिका सचिव सुशील बस्यालका अनुसार महायज्ञको अवधिमा धार्मिक कथा वाचन, प्रवचन, भजन, कीर्तन, सांस्कृतिक कार्यक्रमहरूका साथै सामूहिक हवन जस्ता गतिविधिहरू हुनेछन् ।

९ दिनसम्म चल्ने महायज्ञमा कथा वाचिका विदूषी गरिमा उपाध्य “भक्त किंकरी” ले गर्ने बताइएको छ । महायज्ञका लागि मन्दिरलाई पवित्र र व्यवस्थित बनाउन जनश्रमदानबाट काम भइरहेको छ । धार्मिक महोत्सवमा भक्तजनको ठूलो सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया