
पाल्पा । तानसेन नगरपालिकाले आदिवासी जनजातिका लागि एक दिने कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । सोमबार आयोजित कार्यक्रममा आदिवासी जनजाति घरायसी कानुन र अधिकार, आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी महासन्धि नम्बर १६९ बारे प्रशिक्षण दिइएको थियो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले यस्ता कार्यक्रमले नगरका आदिवासी जनजातिलाई सचेत र संगठित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका संयोजक एवं नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिङ्जालीले प्रथम र द्वितीय विश्वयुद्धमा समेत अद्वितीय बहादुरी प्रदर्शन गरेका आदिवासी जनजाति समुदायले अब नेपालको राजनीति र प्रशासनमा समेत सहभागिता वृद्धि गर्नुपर्ने बेला आएको बताइन् । उनले परापूर्व कालदेखि भोग चलन गर्दै आएको आफ्नो थातथलो भएका, आफ्नो मातृभाषा भएका, पहिचानसहितको अस्तित्व र अलग परम्परागत प्रथा तथा संस्कृति भएका समुदाय आदिवासी रहेको बताइन्।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, आदिवासी जनजाति आयोग ऐन तथा मानवअधिकार र देवानी संहिताबारे समेत जानकारी गराइएको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष ,आदिवासी अभियान्ता तथा अधिवक्ता केयरसिङ रानाले सहजिकरण गरेका थिए । उनले आदिवासीलाई अगाडि ल्याउनका लागि आरक्षण वा समावेशिताका कुराहरू उठाएको, अहिले कानुनी हिसाबमा राजनीतिक दल, राज्यका निकाय वा स्थानीय तहमा आदिवासीहरू समेटिएका बताउदै स्वतन्त्र रूपमा आफ्नो कुरा उठाउनबाट अझैपनि वञ्चित रहेको बताए।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले नेपालको कानुनले आदिवासी जनजातिलाई “आफ्नै मातृभाषा र परम्परा तथा रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूचीबमोजिमको जाति वा समुदाय”को रूपमा व्याख्या गरेको बताए।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्की, कार्यपालिका सदस्य लक्ष्मी वि क, वडा न १ का वडाध्यक्ष सुनिल कुमार बस्याललगायतले सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिकलगायत विभिन्न पाटोमा पिछडिएका भनिएका आदिवासी जनजाति समुदायलाई अगाडी ल्याउन यो कार्यक्रमले सघाउ पुग्ने बताएका थिए ।
कार्यक्रम महिला तथा बालबालिका शाखाका चिना न्यौपानेको संचालनमा सम्पन्न भएको हो। ५० जनाको सहभागिता रहेको कार्यक्रममा तानसेन नगरपालिका भित्र रहेका आदिवासी जनजातीको जातीय संगठनका मगर,नेवार,कुमाल,बोटे,थकाली ,भुजेल ,गुरुङलगायतका समुदायको उपस्थिति रहेको थियो।