फालिएका काठबाट अद्वितीय काष्ठकलामा जीवन दिने : कलाकार अम्बर बहादुर गुरुङ

पाल्पा । तानसेन नगरपालिका वडा नं ७, बर्तुङका अम्बर बहादुर गुरुङले फालिएका काठलाई अनौठा आकृतिमा बदल्दै धेरैलाई चकित पारेका छन् ।

आफ्नो कलाले मानवीय आँखा धोखा दिने जस्तो वास्तविकता झल्काउने गुरुङको काष्ठकलाप्रति त्यहाँ पुग्नेहरु लालयित भएर मात्र फर्किन्छन् । उनको काष्ठकलाको प्रशंसा गर्छन्, त्यो कला देखेर मानिसहरु लोभिन्छन्, केही न केही काष्ठकला खरिद गरी लैजान्छन् । यसले गुरुङलाई काष्ठकलाप्रति टिकीरहन थप प्रेरणा मिलेको छ ।

दाङको तुलसीपुरमा जन्मिएका उनलाई बाल्यकालदेखि नै कला क्षेत्रतर्फ आकर्षित बनाएको थियो । गुरुङले नेपालका विभिन्न प्रसिद्ध व्यक्तित्वहरु मदन भण्डारी र शंकर पोखरेलका काष्ठ मूर्तिहरू निर्माण गरेर आफ्नो क्षमता प्रदर्शन गरेको बताए । आफ्नो कल्पना र सीपलाई प्रयोग गरी विभिन्न आकृतिहरू निर्माण गर्न उनी सानैदेखि यो काष्ठकलाप्रति समर्पित थिए ।

फालिएका काठको कुशल प्रयोग गरी बन्दुक, हलो–जुवा, सिक्रीजस्ता उपकरणहरू बनाएर चिनिएका गुरुङ अहिले एउटै काठको टुक्रालाई कतै काट वा जडान नगरी बिभिन्न अद्वितीय आकृतिहरू बनाउने अब्बल कलाकारका रूपमा परिचित छन् । काष्ठकलाको कलाकारका रुपमा आफुलाई स्थापित गर्न निरन्तर रुपमा मेहनत गर्नुपरेको उनले बताए । काष्ठकलाको काम गर्दा आफुलाई समाजले विभिन्न प्रश्न गरयो, तर पनि आफ्नो रुचिको विषय भएकाले यो कामदेखि कहिले पनि विचलन हुन परेन, निरन्तर मेहनतले काष्ठकलाप्रति उनले दक्ष कलाकारका रुपमा यस क्षेत्रमा पहिचान बनाए ।

 

गुरुङका कलाकृतिहरू आधुनिक मेसिनको प्रयोगबिना हातले मात्र तयार गरिएका छन् । उनका अद्वितीय सिर्जनाहरू तानसेनको पाल्पा दरबार संग्राहालयमा सजिएका छन् । काष्ठकलाको क्षेत्रमा सक्रिय गुरुङले बजारीकरण र प्रचारप्रसारको अभावका कारण आफ्नो व्यवसायलाई दिगो बनाउने चुनौती रहेको छ । उनका अनुसार काष्ठकलाबाट जीविकोपार्जन गर्नु चुनौतीपूर्ण छ ।

काष्ठकलाको संरक्षण, प्रवद्र्धन र व्यवसायिकरणका लागि सरकारले चासो दिनुपर्छ । तर, नेपालमा काष्ठकला र कलाकारहरूको महत्वलाई सरकारले पर्याप्त प्रोत्साहन नगरेकोप्रति गुरुङको गुनासो छ । उनका अनुसार विभिन्न स्थानबाट मानिसहरू उनका सिर्जनाहरू अवलोकन गर्न आउँछन् र मन परेका आकृतिहरू खरिद पनि गर्छन् । गुरुङ भन्छन्, “सबैभन्दा ठूलो सन्तुष्टि भने आफ्ना कलाका आकृतिहरू हेरेर प्राप्त हुने आत्मसन्तोष नै हो ।”

गुरुङको कलाले काष्ठकलाको महत्व झल्काएका छैन्, यसले नेपाली समाजको प्राचिनकालीन सामाजिक साँस्कृतिक पक्षको पूर्नजर्गेना गर्न ठूलो योगदान गरेको तानसेन नगरपालिकाकी उपमेयर प्रतिक्षा सिंजालीले बताइन् ।

फालिएका कुकाठबाट पनि सिर्जनात्मकता प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन । बेरोजगार युवाहरुले समाजमा नयाँ नयाँ काम गरी समाजलाई नयाँ काममा लाग्न उनी प्रेरणाका स्रोत हुन ।

उनीजस्ता कलाकारलाई थप प्रोत्साहन र सम्मानको खाँचो रहेको स्थानीयबासिन्दाको भनाई छ ।

तपाईको प्रतिक्रिया