
तानसेन। माथागढी गाउँपालिकाले आठ वटै वडामा घुम्ती शिविरबाट सेवा प्रदान गर्न सुरु गरेको छ। गाउँपालिकाका विभिन्न शाखाले पालिकाको केन्द्रबाट प्रदान गर्दै आएको सेवा वडा–वडामा पुगेर प्रदान गर्न सुरु गरेको हो ।
शिविरको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नागरिकको सेवा सुविधालाई केन्द्रमा राखेर पालिकाले विभिन्न सेवा प्रदान गर्नु उदाहरणीय काम भएको बताए । उनले संघीयताको मूल मर्मअनुसार दुर्गमका नागरिकले घरदैलोमा सेवा पाउनु रहेको उल्लेख गर्दै पालिकाले यस्तो सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिए। घुम्ती शिविरले दुर्गम, पिछडिएका, विपन्न नागरिकलाई सहज र सरल रुपमा सेवा लिन अत्यन्त उपयोगी हुने उनले बताए ।
पालिकाको केन्द्रमा पुगेर सेवा लिन नसकेका नागरिकलाई मध्यनजर गर्दै घुम्ती शिविर सञ्चालन गरिएको र यसलाई निरन्तरता दिइने माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए ।
शिविरमा ल्याबसहितको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण, पाठेघरको मुखको क्यान्सर जाँच, विभिन्न रोगबाट पीडित नागरिकलाई स्वास्थ्य जाँचपछि आवश्यक परामर्श र निःशुल्क औषधि वितरण, दान्त परीक्षण गरिएको थियो ।
यस्तै माटोको परीक्षण, पशुपंक्षीलाई निःशुल्क औषधि वितरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, गरिबी परिचयपत्र वितरण, नक्सा पास विवरण सङ्कलन तथा प्रमाणीकरण सम्बन्धी काम गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिए।
शिविरमार्फत पालिकाले दिएको सेवा लिएपछि नागरिकलाई दिन विताएर पालिका जानुपर्ने बाध्यताको अन्त्य हुँदा धेरै सहज भएको स्थानीयले बताएका छन् ।